काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टिमको प्रशिक्षण छाडेको भन्दै १० जना खेलाडीले उनको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् । सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै खेलाडीहरुले गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए ।
अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले बताए ।
‘त्यसबारेमा कुरा गर्न खोज्दा उहाँले छाडेर जाओ भन्नुभयो’, खेलाडी अनन्त तामाङले भने, ‘अब यही कोचले प्रशिक्षणामा बोलाए हामीलाई गाह्रो हुन्छ ।’
प्रशिक्षकले मैदान भित्र नभइ मैदान बाहिर पनि समस्या निकालेको उनको आरोप छ । ‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई दबाब दिइयो,’ उनले भने,
‘यस्तो अभ्यास विश्वको फुटबलमा कही कतै पनि छैन ।’ पत्रकार सम्मेलनमा चन्दले भने, ‘हामीले कोच हटाउनुपर्छ भनेका छैनौं । तर हामीलाई उहाँको अण्डरमा खेल्न गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न ।’
प्रशिक्षणमा रहेका ४ खेलाडी पनि असन्तुष्ट
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेका अन्य ४ खेलाडीले पनि प्रशिक्षक अब्दुल्ला अलमुताइरीको व्यवहार प्रति असन्तुष्टी जनाएका छन् । रोहित चन्दलाई टोलीबाट निकालेपछि अन्य ९ खेलाडीले प्रशिक्षण छाडेका थिए ।
बिहीबार प्रशिक्षणमा रहेका थप ४ खेलाडीले असन्तुष्टी जनाएका छन् । यसरी असन्तुष्टी जनाउनेमा मिडफिल्डर पुजन उपरकोटी, फरवार्ड दर्शक गुरुङ, मिडफिल्डर एरिक विष्ट र गोलकिपर दीप कार्की छन् । ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा जायज विषय उठाउँदा खेलाडीप्रति गरिएको व्यवहारप्रति मेरो असन्तुष्टी छ’ चारै खेलाडीले एकै प्रकारको फेसबुस स्टाटसमा लेखेका छन् ।
प्रशिक्षणमा अन्य अधिकांश खेलाडी विभागसँग आबद्ध रहेकाले प्रशिक्षक र खेलाडीबीचको विवादमा आफ्नो धारणा सार्वजनिक नगरेको अनुमान गरिएको छ । एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए ।
१४ नयाँ खेलाडी प्रशिक्षणमा बोलाइए
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् ।
नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना खेलाडी राति नै होस्टेल छोडेर गएका थिए । त्यसपछि खेलाडीहरू बन्द प्रशिक्षणमा नआउँदा प्रशिक्षक अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।
अल्मुताइरीले एन्फालाई मंगलबार १४ जना नयाँ खेलाडीको नाम दिएको र एन्फाले त्यसलाई स्वीकृत गरेको एन्फाका सहसचिव इन्द्रमान तुलाधरले बताए । तर, एन्फाले १४ जना नयाँ खेलाडीको नाम खुलाएको छैन । यता एन्फाले कतै जानकारी पनि गरेको थिएन ।
प्रतिक्रिया