काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो चरण सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा चलिरहेको प्रतियोगिताका दोस्रो चरणका खेल बुधबार सकिएका हुन् । हरेक दिन तीन खेल खेलाइएको दोस्रो चरणमा सात खेल आयोजना भए । महावीर क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दै सुरु भएको दोस्रो चरण अन्तिम खेलमा ओसिस क्लब र झापा फुटबल क्लब भिड्दै समाप्त भयो ।
दोस्रो चरणमा कूल १६ गोल भए । औसतमा दुइ दशमलव २८ गोल भए । यसअघि पहिलो चरणमा २५ गोल भएका थिए । यस चरणमा तीन खेल बराबरीमा सकिँदा चार खेलमा हार जितका नतिजा आए । पहिलो खेलमा महावीर र प्लानिङले १–१ गोल र दोस्रो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले ।
तेस्रो खेलमा सानेपा क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–० अन्तरले हरायो । चौंथो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले । यस्तै, पाँचौ खेलमा मनोहर युनाइटेड क्लब र स्वयम्भू क्लबले १–१ गोलको बराबरी खेले । यता, ७५ मिनेटसम्म १–० ले पछि परेको आरसी ३२ फुटबल एकेडेमीले पुनरागमनसहित वीरगंज युथ एकेडेमीलाई ३–१ अन्तरले हरायो ।
समाज कल्याण खेलकुद केन्द्रले रानीवन स्पोर्टस् एकेडेमी र झापा फुटबल क्लबले ओसिस क्लबलाई क्रमशः १–० ले पराजित गर्याे । जारी लिगमा समान ६ अंक भए पनि सानेपा, झापा र आरसी ३२ क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । समान चार अंकका साथ मनोहरा, महावीर र प्लानिङ क्रमशः चौंथोदेखि छैटौँ स्थानसम्म छन् ।
यता, तीन अंकका रानीवन र समाज कल्याण क्रमशः सातौँ र आठौँ स्थानमा छन् भने एक अंकका स्वयम्भू, साँगा र खालिवारी क्रमशः नवौँदेखि ११औँ स्थानमा छन् । खाता खोल्न नसकेका पुल्चोक, ओसिस र वीरगंज क्रमशः १२औँ देखि पुछारसम्म छन् । एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।
प्रतिक्रिया