कैयन साथीको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : शेखर काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै काेइरालाले भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’

उनले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरु नै पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेकाे बताएका छन् । ‘कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन ।’

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निस्काशन गरेका थिए । काेइरालाले याे घटनालाई संकेत गर्दै असन्तुष्टि जनाएका छन् ।

‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ,’ उनले भनेका छन् ।

उनले निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु आह्वान गरेका छन् । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुने उनकाे भनाइ छ ।

‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु । निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया