काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्वसंविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी उक्त पार्टीका केन्द्रीय सदस्य हुन् भने विक पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भाइबुहारी हुन् ।
रास्कोट नगरपालिका प्रमुखमा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ । उपाध्याय ०६४ सालको संविधानसभाको सदस्य हुन् । खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमाको अध्यक्षमा रुपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ ।
पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत ऐडीले बताए । कालीकोट प्रवक्ता विश्वकर्माको गृह जिल्ला हो । सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।
यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा पनि उम्मेदवारी दिएको छ । जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो ।
पार्टीले स्थानीय तह निर्वाचनका लागि गंगादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ । रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सहसचिव केबी गुरुङले जानकारी दिए ।
उनका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका पार्टीका केन्द्रीय सदस्यसमेत रहेका चुडामणि वलीले गाउँपालिकाको अध्यक्षमा र सुशिला वलीले उपाध्यक्षमा स्वतन्त्ररूपमा उमेदवारी दिएका छन् । उक्त गाउँपालिकाको वडा–२ को अध्यक्षमा टीकाराम नेपाली, ३ को वडाध्यक्षमा लालबहादुर वली, ४ को वडाध्यक्षमा नन्दे वली, ५ को वडाध्यक्षमा यमनकुमार चन्द र ६ को वडाध्यक्षमा दीपेन्द्र खत्रीको उम्मेदवारी परेको छ ।
यसैगरी थवाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती र अजय घर्ती, उपाध्यक्षमा रायबहादुर पुनको उम्मेदवारी परेको छ । वडाध्यक्षमा वडा–१ मा फर्के झाँक्री, वडा–२ मा तीर्थनारायण मिजार र वडा–५ मा दुकमन रोकाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा दीपेश विष्टको उम्मेदवारी परेको छ । यस गाउँपालिकाको २ नं वडाध्यक्षमा बेगमध्वज थापा ’एनान’ र वडा–६ को वडाध्यक्षमा सन्तोष सुवेदीको उम्मेदवारी परेको हो ।
परिवर्तन गाउँपालिकाको अध्यक्षमा लालबहादुर डाँगी र उपाध्यक्षमा मीरा बुढामगरले उमेदवारी दर्ता गराएका छन् । वडा नं २ को अध्यक्षमा अनिल केसी, ३ नं वडाध्यक्षमा पृथ्वीविक्रम डाँगी, ४ नं वडाध्यक्षमा चित्रबहादुर बुढा ५ नं वडाध्यक्ष खिमप्रसाद घर्ती शाह र ६ नं वडाध्यक्षमा दीपक थापाले उम्मेदवारी दिएका छन् । सुनछहरी गाउँपालिकाको अध्यक्षमा पुष्टमन घर्तीमगरले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
यसैगरी लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया विकले उम्मेदवारी दर्ता गराएका छन् । वडा–१ को अध्यक्षमा नबहादुर खत्री, वडा–२ को अध्यक्षमा जीतमान खड्का, ३ को वडाध्यक्षमा लीलाबहादुर घर्ती क्षेत्री, ४ को वडाध्यक्ष टेकबहादुर विष्ट र ५ नं वडाध्यक्षमा सुर्वणकुमार रोका मगरको उमेदवारी परेको छ ।
उक्त पार्टीबाट रोल्पा नगरपालिका, त्रिवेणी र माडी, गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी परेको छैन । त्रिवेणी गाउँपालिकाको वडा–३ को अध्यक्षमा बेदबहादुर पुन र ६ नं वडाध्यक्षमा खिमराज पुनको उम्मेवारी परेको छ । माडी गाउँपालिका–५ को वडाध्यक्षमा प्रकाश केसी र रोल्पा नगरको १० नं वडाध्यक्षमा धनबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।
उक्त पार्टीद्वारा जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गएको हो । गुरुङका अनुसार केही स्थानमा कांग्रेस र एमालेको तालमेलमा तथा केही स्थानमा एकल उम्मेदवारी दर्ता गरिएको हो ।
यसैगरी विप्लव नेतृत्वको पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि उदयपुरको चार पालिकामा विभिन्न पदमा मनोनयन गराएको छ । पार्टीका उदयपुर इञ्चार्ज लक्ष्मण पौडेलका अनुसार सो पार्टीको तर्फबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुलामी मगरले उम्मेदवारी दिएका छन् ।
उक्त पालिकाको वडा–५ को अध्यक्षमा केशव श्रेष्ठ, वडा–६ को अध्यक्षमा ढबबहादुर राउत र वडा–८ को अध्यक्षमा रेवती श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । जिल्लाको त्रियुगा नगरपालिकाको उपमेयरमा सो पार्टीका रामकृष्ण सदाले उम्मेदवारी दिएका छन् भने बेलका नगरपालिका–९ को वडाध्यक्षमा मनकुमारी राईले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए । उनका अनुसार कटारी नगरपालिकाको वडा–९ र ४ मा पनि वडाध्यक्षका लागि उक्त पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।
प्रतिक्रिया