चुनावी तालमेलको निर्णय उल्लंघन : सुरु भयो कारबाही प्रक्रिया

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूले तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । सोही अनुसार, सत्तारूढ पाँच दलीय गठबन्धनले सम्पूर्ण महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा पनि गरेका छन् । पाँच दलतका शीर्ष नेताहरूबीच नै यस्तो यस विषयमा लिखित सहमतिसमेत भएको छ । शीर्ष नेताहरूले सत्तारूढ गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्ने भद्र सहमति पनि गरेका छन् । यसका लागि पाँच दलले तल्लो तहसम्म नै संयन्त्र तयार पारेका छन् भने आआफ्ना नेता/कार्यकर्तालाई निर्देशन पनि जारी गरेका छन् ।

चुनावी तालमेल हुन नसकेको स्थानमा भने आपसमै पनि मित्रवत प्रतिस्पर्धा गर्ने दलहरूबीच सहमति भएको छ । तर, मनोनयन दर्ता प्रक्रियामा भने शीर्ष नेताहरूबीचको लिखित सहमति इमानदारीपूर्वक कार्यान्वयन भएको पाइएन ।

अधिकांश स्थानमा चुनावी तालमेलको सहमति विपरीत सत्ता गठबन्धन दलहरूबाटै बागी उम्मेदबार खडा भएका छन् । पोखरा, ललितपुर, भरतपुरलगायत अधिकांश महानगर र उपमहानगरमा गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्घ बागी उम्मेदवार उठेका छन् ।
गठबन्धनको निर्णय विपरीत जाने नेता÷कार्यकर्तालाई कारबाही गर्ने चेतावनीसमेत दलहरूले दिएका थिए । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले समेत चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनको निर्णय विपरीत गए कारबाही गरिने बताएका थिए ।

उनले गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने चेतावनी पनि दिएका थिए । ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ’, गृहमन्त्री खाँणले भनेका थिए, ‘पार्टीको निर्णय विपरीत जाने नेता÷कार्यकर्ताको गतिविधिलाई गम्भीर तरिकाले निरीक्षण गरिँदै छ । उनीहरूले कारबाहीको भागिदार बन्नुपर्नेछ ।’

शीर्ष नेताहरूको यस्तो चेतावनीका बावजुद सत्ता गठबन्धन दलभित्रैबाट ठुलै संख्यामा बागी उम्मेदवार देखा परे । त्यसैले सत्ता गठबन्धन दलले चुनावी तालमेलको सहमति उल्लंघन गर्ने नेता÷कार्यकर्ताविरुद्घ कठोर नीति अख्तियार गर्ने संकेत दिएका छन् ।

यसैक्रममा नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । कांग्रेसको विधान–२०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले उनलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

डडेल्धुरा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पनि हो । मल्लले अलग पार्टी नेपाली कांग्रेस बिपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेल्धुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।

मल्लकै पहलमा डडेल्धुरामा एमालेले चार र कांग्रेस बिपीले तीन पालिकामा चुनावी तालमेल गरेका थिए । अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस बिपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।

यसैगरी अर्को सत्तारूढ दल नेकपा माआवादी केन्द्रले पनि चुनावी तालमेलको निर्णय उल्लंघन गर्ने भोजपुरका कार्यकर्तालाई कारबाही गरेको छ । भोजपुर जिल्लामा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको हो ।

एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी नेकपा माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेलले दिएका छन् ।

कारबाहीमा पर्नेहरूमा भोजपुर नगरपालिका–११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिकाका–९ का शेखर तामाङ र षडानन्द नगरपालिका–१३ का ओमकुमार श्रेष्ठ रहेका जानकारी भुजेलले दिए । ‘गठबन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उल्लंघन गर्दै गठबन्धनभन्दा बाहिरी दलको चुनाव चिन्ह लिई मनोनयन दर्ता गरेको हुँदा पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजकै मितिबाट निष्काशन गरिएको छ’, भुजेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न लिदै वागी उम्मेदवार दिने पार्टीका सबै कमरेडहरुलाई २०७९ वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णय विपरीत कदम नचाल्नका लागि निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । उम्मेदवारी फिर्ता नलिए प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउनले अध्यक्ष सहयात्रीले बताएका छन् ।

प्रतिक्रिया