काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने समय सोमबार सकिएको छ । निर्वाचन आयोगले मनोनयन पत्र दर्ता गराउने उम्मेदवारको विरोधमा उजुरी दिन मंगलबारको समय तोकेको थियो ।
यस अवधिमा देशभर विभिन्न राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने केही उम्मेदवारको विरुद्घमा निर्वाचनमा आयोगमा उजुरी परेको छ । केही स्थानमा भने नियम विपरीत मनोनयनपत्र दर्ता गराउन आएको भन्दै आयोगले नै उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेको छ ।
ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीमा शाक्यको उम्मेदवारी कानुन विपरीत रहेकोले खारेज गर्न माग गरिएको छ ।
उपमेयरकी उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय ललितपुरले पनि एमालेको तर्फबाट उपमेयरकी उम्मेदबार शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ ।
०७४ सालको प्रदेशसभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सूचीमा रहेको दाबी गरिएको छ । शाक्यको नाम आयोगको बन्द सूचीबाट नहटाई ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।
यसैगरी ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पाँच जनाविरुद्ध पनि उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीका अनुसार, मंगलबार पाँच जना मेयरका उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
निर्वतमान मेयर चिरीबाबु महर्जनसहित पाँच जनाविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘उजुरी के विषयमा परेको छ, अध्ययन नगरी सरासर दर्ता गरेका छौँ । भोलि ती उजुरी हेरेर आवश्यक निर्णय गर्नेछौँ,’ ललितपुरका मुख्य निर्वाचन अधिकृत सिवाकोटीले भने ।
ललितपुर महानगरपालिको मेयरमा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आमूल परिर्वतन मसिहा पार्टीकी सपना महर्जन, स्वतन्त्रबाट सरिना लाखे, रोजेन्द्र थापामगर र सुरेश महर्जनले उम्मेदवारी दिएका छन् ।
मौलिक जिरोकिलो पार्टीबाट सपना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्ट बहादुर महर्जन, विवेकशील साझा पार्टीबाट उज्वल कृष्ण श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट अशोक महर्जन, राष्ट्रिय जनमुक्क्ति पार्टीबाट सनी महर्जन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीबाट मोहन राज शाक्य, मंगोल नेशनल अर्गनाइजेसनबाट राम महर्जन, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृण्ण ब्यञ्जनकार, नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन र जनमत पार्टीबाट बासुदेव अमात्यले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा उपमेयर पदमा मनोनयन बुझाएका दीर्घराज श्रेष्ठको उम्मेदवारी नै दर्ता भएन । श्रेष्ठले नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा रहेकाले मनोनयन दर्ता हुन नसकेको जनाएको छ । ‘समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको’, मुख्य निर्वाचन अधिकृतको कार्यालयले भनेको छ ।
कमलामाई नगरपालिकामै विभिन्न पदमा मनोनयनपत्र बुझाएका अन्य नौ जनाको नाम पनि दर्ता हुन नसकेको आयोगले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नम्बर ४ को अध्यक्षमा मनोनयन बुझाएका विष्णुकुमार श्रेष्ठको नाम पनि दर्ता हुन सकेन । उनको प्रस्तावकको विवरण नभिडेको आयोगले जनाएको छ ।
सोही नगरपालिकामा विभिन्न वडाको अध्यक्ष र सदस्य पदमा मनोनयनपत्र बुझाएका नेपाली कांग्रेसका टिकाप्रसाद घिमिरे, नेकपा एकीकृत समाजवादीका विरबहादुर माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेगबहादुर ठकुरी लगायतको उम्मेदवारी पनि दर्ता हुन नसकेको आयोगले जनाएको छ । उनीहरूमध्ये अधिकांशको प्रस्तावक वा समर्थकको विवरण नभिडेको बताइएको छ ।
यसैगरी रसुवा जिल्लामा पनि एक जना उम्मेदबारविरुद्घ दावी विरोधको उजुरी परेको छ । जिल्लाको उत्तरगया गाउँपालिका–३ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यकी उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले उजुरी गरेकी हुन् । उनले उम्मेदवारी दर्ताका क्रममा सुनुवारले दलित भएको आधिकारीकपत्र पेस नगरेको दाबी गरेकी छन् । उत्तरगया गाउँपालिका–३ मा एक जना दलित महिला सदस्यका लागि एमालेबाट एक र कांग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया