क्यान इन्फोटेक सम्पन्न : अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाडौं । यहि बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर सफलता पुर्वक सम्पन्न भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविद १९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो । शुरुदेखि नै पुष, माघ, फाल्गुनको जाडो महिनामा हुने प्रदर्शनी यस पटक पहिलो पटक बैशाख महिनामा सम्पन्न भएको हो ।

इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी एक दुई महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन् । २ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करिव सवा २ लाखजना अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेका छन् ।

एसइइको परिक्षा, त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा भैरहेको परिक्षा, कजेलहरुको पूर्वबोर्ड परीक्षा, स्थानिय चुनाव तथा यस सम्बन्धि निर्वाचन आयोगको आचार संहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो २ दिन वर्षाको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमि देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा रहेको छ ।

प्रतिक्रिया