कांग्रेसको संसदीय बोर्ड गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड) गठन गरिएको छ । आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । समितिमा १३ पदाधिकारीबाहेक रामचन्द्र पौडेललाई मात्र राखिएको छ ।

स्थानीय तह निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकारप्राप्त संसदीय बोर्ड झन्डै अधिकांश टिकट वितरण गरिसकेपछि गठन भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार महानगरपालिकाकै टिकट टुंग्याउन नसकेपछि संसदीय समिति गठन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले अहिले केही बेरमै संसदीय बोर्डको बैठक राखेर महानगरपालिकाको टिकट वितरण टुंग्याउने तयारी गरेका छन् । कांग्रेसको विधानानुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । कांग्रेसको विधानानुसार केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ ।

प्रतिक्रिया