टिकटक बनाउनेले नगद पुरस्कार पाउने

ओखलढुंगा । जिल्लाको तीनछाँगे झरनाको प्रवद्र्धन गर्न उत्कृष्ट लेखरचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ ।
सुनकोसी गाउँपालिका–९ को समृद्धि र विकासका लागि ओखलढुंगा जिल्लाको चर्चित एवं रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट तीन जनालाई नगदसहित पुरस्कृत गरिने भएको हो । तयार पारिएको सामग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोसी गाउँपालिका–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामग्रीसमेत तयार पार्न सकिने उनको भनाइ छ ।

नयाँ वर्ष–२०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवद्र्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् सांगीतिक कार्यक्रमसहितको तयारी गरेको प्रवद्र्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताए । कार्यक्रममा स्थानीयवासीको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अग्र्यानिक स्वादसहित स्वादिष्ट परिकारहरू, राष्ट्रिय फूल लालीगुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ । स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवद्र्धन अभियान चलाएका छन् । सुनकोसी–९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइएको छ ।

पुरानो किंवदन्ती बोकेको धार्मिक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो । त्यहाँसम्म पुग्ने बाटोसमेत थिएन । अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगेसम्म पुग्ने सहज बाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायत पूर्वाधार निर्माण गरिएको छ ।
पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ ।

प्रतिक्रिया