बैतडी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुंगो नलगाएका भए पनि राजनीतिक दलहरूले आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरू गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रूपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाले पनि स्थानीय तहहरूमा चुनावी अभियान सुरु गरेको छ ।
केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरू पनि जिल्लामा भने एक्लाएक्लै चुनावी प्रचारप्रसार गरिरहेका छन् । तालमेल गर्ने विषयमा टुंगो नलाग्दा एक्लाएक्लै प्रचारमा जुटेका हुन् । नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रमअनुसार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको छ । पालिकास्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिएको छ ।
कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दका अनुसार निर्वाचन केन्द्रित भएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन भइरहेको छ । उनले भने, ‘स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ । देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको शृंखला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो ।’
संगठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आममानिसमा पु¥याउनका लागि अभियान सञ्चालन भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नो पार्टीले बहुमत ल्याउने सभापति चन्दको दाबी छ । उनले भने, ‘हामीले अहिले पनि हरेक वडामा अभियान सञ्चालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि कांग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण हामी बहुमत सिटमा जीत हासिल गर्छौं ।’
नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचारप्रसारमा जुटिसकेको जनाएको छ । गाउँगाउँमा संगठन विस्तार गर्नाका साथै चुनावी अभियानलाई तीव्रता दिएको एमाले बैतडीका सचिव चक्र कार्कीले बताए । उनले भने, ‘एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।’
यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । माओवादीका जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले देश अहिले माओवादीको एजेन्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताए । उनले भने, ‘हामीले बोकेको एजेन्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन । त्यसैले हामीलाई नेतृत्व दिन सकेका छैनौँ ।’
आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा माओवादीको कुनै न कुनै रूपमा प्रतिनिधित्व हुने गरेर अघि बढिरहेको इन्चार्ज कुँवरले बताए । नेकपा (एकीकृत समाजवादी) पनि चुनावी अभियानमा व्यस्त रहेको छ । सो पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले संगठन विस्तारका साथै चुनावी अभियानलाई तीव्रता दिएको बताए । उनले भने, ‘हाम्रो पार्टीप्रति नागरिकको आकर्षण रहेको छ, हामी निर्णायक शक्तिका रूपमा देखिन्छौँ ।’
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियान सुरु गरिसकेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । गएको स्थानीय तहको निर्वाचनभन्दा यो निर्वाचनमा बढी सफलता मिल्ने उनको दाबी छ । उनले भने, ‘जनजागरण कार्यक्रम र घर फर्क अभियानलाई पनि सँगसँगै लगेर चुनावी प्रचारप्रसारमा जुटेका छौँ ।’ गएको स्थानीय तहको निर्वाचनमा बैतडीका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६, एमालेले तीन र माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी भएको थियो ।
प्रतिक्रिया