दमौली । नेकपा एमाले भीमाद नगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ ।
प्रमुख पदका लागि आठ जना आकांक्षी भएपछि भीमाद नगर कमिटीले मंगलबार मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन् । थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन् । वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन् । एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भए पनि सहमति नभएपछि मतदानमार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ ।
घिरिङ गाउँपालिकामा पनि उम्मेदवार सिफारिसका लागि मतदान भएको छ । एमालेले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा १० जना आकांक्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत् उम्मेदवार टुंगो लगाएको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन् । उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिनन् । उपाध्यक्षका लागि दुर्गा थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएका छन् ।
यसैगरी ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दावी गरेका छन् । गाउँपालिकाको बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन् । यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकांक्षा व्यक्त गरेका छन् ।
त्यसैगरी व्यास नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट १२ जना आकांक्षी देखिएका छन् । नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा नगरप्रमुख पदमा १२ जनाले आकांक्षा व्यक्त गरेका हुन् । नगरप्रमुखका लागि राजेन्द्र कार्की, रत्नकुमार श्रेष्ठ, ईश्वरबहादुर विष्ट, कुलबहादुर थापा, दीपेन्द्रराज शाही, अनिल पाण्डे, देवीबहादुर बस्नेत, दीर्घबहादुर दरै, प्रदिप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुषालले आकांक्षा व्यक्त गरेका छन् । त्यस्तै उपप्रमुखका लागि बसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दावी गरेको बताइएको छ ।
प्रतिक्रिया