मोटरसाइकल दुर्घटनामा चार महिने बालिकाको मृत्यु, बुबाआमा घाइते

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सोही दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएको प्रहरीले जनाएको छ ।

काभ्रेको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा बालिकाका बुबा २२ वर्षीय बुद्ध तामाङ र आमा २१ वर्षीया सुस्मिता तामाङ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते बालिकाको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते तामाङ दम्पती उपचारपछि घर फर्केका छन् ।

प्रतिक्रिया