नेपालमै पहिलो पटक सौन्दर्य प्रतियोगिता ‘कर्पोरेट’ को आयोजना

काठमाडौं । नेपाली सौन्दर्य प्रतियोगितामा पहिलो पटक कर्पोरेट क्षेत्रमा आवद्ध भएका महिला एवं पुरुषलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता ‘फेस अफ कर्पोरेट २०२२’ को पहिलो संस्करण आयोजना हुँदै छ । यस विषयमा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था कलिउड हवका अध्यक्ष राजन खरेलले जानकारी दिए ।

उक्त पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका व्यवसाय तथा रोजगारीमा आवद्ध भएका उद्यमी महिला एवं पुरुषहरुको सहभागीता रहने गरी सौन्दर्य प्रतियोगिता ‘‘फेस अफ कर्पोरेट २०२२’ आयोजना गर्न लागिएको अध्यक्ष खरेलले बताए । उपत्यका लगायत मोफसलका विभिन्न कर्पोरेट संस्थानमा आवद्ध साथै कर्पोरेट क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकाहरुले यस प्रतियोगीतामा सहभागी हुन सक्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहका युवा, युवती तथा विवाहित महिला–पुरुषले ‘‘फेस अफ कर्पोरेट २०२२’ मा सहभागी हुन पाउने खरेलले बताए ।

कर्पोरेट क्षेत्रमै आफ्नो भविष्य खोजिरहेकाहरुलाई विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरीक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्यवसायिक व्याक्तित्व तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने लक्ष्यसहित उक्त कार्यक्रमको अयोजना पत्रकार भेटघाटमा जानकारी दिइयो ।

सो कार्यक्रममा सहभागीताको लागि आगामी बैशाख दोस्रो सातासम्म आवेदन फारम कलिउड हवको कार्यालय बागबजारमा भर्न सकिने बताइएको छ ।

त्यस्तै, ग्लोबल अनलाईन पे मार्फत फारम रजिस्ट्रेसन गर्न सकिने अध्यक्ष खरेलले बताए । उक्त प्रतियोगिताका विजेताले ‘फेस अफ कर्पोरेट २०२२’ को शिर्ष ताज उपाधिसहित नगद रु ५० हजारसहित विभिन्न गिफ्टहयाम्पर प्राप्त गर्नुका साथै अन्य १५ विधामा पनि विजेता छनौट गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया