संगीतमा रम्दै रेशम

काठमाडौं । हृदयमा बसिरन्छ, कलेजीमा गुञ्जिरहन्छ, मनमा मन्द मन्द,
गीतमा सुख संगीतमा सुख शब्दमा आनन्द ।
गीत संगीतमा आफूलाई समर्पित गरेका गायक रेशम विश्वकर्मा नेपाली सांगीतिक क्षेत्रका परिचित व्यक्तित्व हुन् । उनी बाल्यकालदेखि गाउँघरमा छँदा घर वरिपरी खेतबारीमा वा गोठालो जाँदा हमेशा हातमा सानो मादल र मुखमा तत्कालीन समयमा चर्चामा रहेका गीत गुनगुनाइरहने हँसिलो, रसिलो र जोसिलो स्वाभावका गायक हुन् । २०४० सालमा धादिङको बोराङमा जन्मिएका गायक रेशम २०५८ सालमा राजधानी छिरेपछि ‘निष्ठुरी मायालु’ नामक पप गीतमार्फत औपचारिक रुपमै सांगीतिक क्षेत्रमा प्रवेश गरे । उनले सुरुवाती दिनदेखि निरन्तर संगीत क्षेत्रलाई नै मुख्य पेशा बनाई अगाडि बढिरहेको बताए ।
सुमधुर आवाजसँगै शब्द रचना र ड्रम बादनमा समेत उनले आफ्नो परिचय बनाउन सफल भएका छन् । यसका साथै उनले पछिल्लो समयमा प्रयोगमा आइरहेको संगीत संयोजन गर्ने सफ्टवेयर कम्प्युटरमा राख्न, कुनै खराबी भए मर्मत पनि गर्छन् ।

उनले देशका विभिन्न ठाउँमा मेला महोत्सवमा सहभागी हुँदै आएको बताए । रेशमले राजधानीमा अतिव्यस्तताको बाबजुद पनि देशका विभिन्न ठाउँका दर्शकस्रोतालाई सांगीतिक प्यास मेटाउन रमाउन, झुमाउन पुग्ने गरेको सुनाए । उनको पछिल्लो समय ‘नौडाँडा पारी’ निकै चर्चामा रहेको गीत हो । पप आधुनिक, सेलो र फिल्मी शैलीका गीत गाउन रूचाउने रेशमले हालसम्म ३७ वटा विभिन्न विधाका गीत गाएका जानकारी दिए । उनले दर्शक र स्रोताको रोजाइ अनुसार गीत संगीतको बजार अगाडि बढिरहेको बताउँदै भने, ‘हामीले यो गछौं त्यो गछौं भनेर हुँदोरहेनछ । समाजलाई पाच्य हुनेगरी दर्शकस्रोताको रोजाइका गीत संगीत सिर्जना गर्नु तथा गाउनु नै कलाकारको असली क्षमता हो ।’

उनले कलाकारलाई शिक्षाको अत्यन्तै जरुरी धारणा राख्दै ज्ञानको दायरालाई फराकिलो बनाउनका लागि यसको महत्व कलाकारमा अधिक रहेको बताए । उनले भने, ‘कलाकार भनेको स्टेजदेखि स्टुडियोसम्म थुप्रैको मन जित्ने हुनुुपर्छ । त्यसकारण पढ्नु चाँहि पर्दोरहेछ ।’ रेशमले गीत संगीत नै सिकेर आए अझै सफल भइने जिकिर गरे । बाल्यकालमा विभिन्न सांस्कृतिक प्रतियोगितामा प्रथमदेखि सम्मानित स्थान हासिल गरेको सम्झँदै उनले भने, ‘म सानोछँदादेखि नै गीत संगीतमा निकै रुचि राख्थे । जसको कारण आज यो ठाँउमा छु ।’ उनले विभिन्न प्रतियोगितामा प्रस्तुतिका साथसाथै निर्णायकको भूमिकासमेत निभाएका बताए । अहिले एउटा दोहोरी गीतको रेकर्डिङमा जुटिरहेको जनाउँदै गायक रेशमले भने, ‘मलाई नजिकैको साथी भनेकै संगीत नै हो जस्तो लाग्छ ।’ गीत संगीतबाट नै व्यवसायिक बन्न सकिने प्रशस्तै उदाहरण हाम्रा अगाडि भएको बताउँदै उनले भने, ‘अब गीत गाएर करोडौं कमाउन सक्ने कलाकार पनि तयार भइसकेका छन् ।’

प्रतिक्रिया