तीन पत्रकारलाई ललितकला सम्मान

ललितपुर । नेपाली ललितकला क्षेत्रलाई पत्रकारिताका माध्यमबाट सहयोग पुर्याउने सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले सोमबार पुल्चोकस्थित अक्षेश्वर परम्परागत बौद्ध कला महाविद्यालयमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई ‘सोफाज–ललितकला पत्रकारिता सम्मान’ प्रदान गरे । यसैगरी, राससमा कार्यरत् पत्रकार नारायण ढुंगानालाई ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ तथा कान्तिपुरकर्मी सुशिला तामाङलाई ‘सोफाज– लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार’ प्रदान गरियो छ । सो अवसरमा सम्मान तथा पुरस्कार प्राप्त गर्ने व्यक्तित्वलाई जनही एघार हजार १ सय ११ रूपैयाँ नगदसहित ताम्रपत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा उपकुलपति प्रा.डा. थापाले कलाकारिता र इन्जिनियरिङ विषय एकअर्कासँग जोडिएका विषय भएको बताए । उनले पुस्तौंदेखि कलालाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउने गरी कलाका पाठ्यक्रम तयार गरी उनीहरूलाई सैद्धान्तिक र शैक्षिक योग्यतासहित अगाडि बढ्न मौका दिनुपर्नेमा जोड दिए । उनले कला कलाका लागि नभई जीवनका लागि हुनुपर्नेमा जोड दिँदै भने, ‘रङको संयोजन गर्नु भनेको इञ्जिनियरिङ भाषामा प्रविधिको प्रयोग हो । कसरी रङको प्रयोग गर्नुपर्छ, कुनकुन रङ मिसाएर कस्तो रङ बनाउने भन्ने कुरा पनि प्राविधिक भएकाले समाजमा कलाको महत्व अहम् छ ।’ उपकुलपति प्रा.डा थापाले विश्वमा चिकित्सक, इञ्जिनियरले देशलाई चिनाउन नसक्ने तर कला सिर्जनाले चिनाउने हुँदा यसको छुट्टै पहिचान रहेकाले इञ्जिनियरिङ क्षेत्रमा कला संयोजन गर्ने प्रयास आफूले थालेको बताए ।

उनले भने, ‘समाजलाई सचेत ढंगले अगाडि बढाउन र समृद्ध बनाउन कलाको महत्व विशिष्ट रहँदै आएको छ । यसको विकास, संरक्षण, प्रवद्र्धन, हस्तान्तरण तथा व्यवसायिक विकासमा समेत हामीले व्यवस्थित ढंगले काम गर्नुपर्दछ ।’ कार्यक्रममा सम्मानित व्यक्तित्व मधुपर्कका सम्पादक जयदेव भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर सम्मानित गरेर आफूलाई काम गर्न प्रेरित गरेको बताए । उनले स्व. नारायणबहादुर सिंहको कला÷साहित्यमा स्तरीय योगदान रहेको धारणा व्यक्त गरे । उनले भने, ‘नारायणबहादुर सिंह कला पत्रकारिता पायोनियर र समीक्षकका रुपमा नेपालमा परिचित हुनुहुन्छ । उहाँको योगदानको हामीले सदैव सम्मान गर्नुपर्दछ ।’ सिंह विसं २०१६ पछि गोरखापत्रमा आवद्ध भएर नेपाली कला क्षेत्रको विकासमा योगदान गरको थिए । उनी मधुपर्कको पनि सम्पादकसमेत थिए ।

उक्त समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य लालकाजी लामाले कलालाई आममानिस समक्ष पु¥याउन पत्रकारको विशिष्ट भूमिका रहने भएकाले यसको विकास, स्तरीकरण तथा प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘कला र संस्कृतिको विकासविना राज्य समृद्ध बन्न नसक्ने भएकाले नेपालका मौलिक कलाको संरक्षण र प्रवद्र्धनमा सरोकारी सबै संघसंस्थाले योगदान दिनुपर्दछ ।’

यस्तै, प्राज्ञ रमेशनाथ खनालले ललितकला विकासमा स्व.नारायणबहादुर सिंहले पु¥याएको योगदानको स्मरण गर्दै ललितकला क्षेत्र र कलाकारलाई प्रोत्साहन दिनमा सोफाजको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे । अक्षेश्वर परम्परागत बौद्ध कला महाविद्यालयका अध्यापक उदय बज्राचार्यले पत्रकारलाई सम्मान दिनु भनेको नेपाली ललितकला क्षेत्रकै सम्मान भएको बताए । उनले नेपालको मौलिक परम्परागत कलाको विकासका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत महाविद्यालयमार्फत शैक्षिक कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा क्रोधकला शिरोमणि फाउण्डेसनका अध्यक्ष राकेश अवालेले ललितकलाको विकासमा पत्रकारको भूमिका अहम् रहेको विचार व्यक्त गरे । उनले आफ्नो बुवा कालु कुमालेलाई क्रोधकला शिरोमणिका रूपमा परिचित गराउन पत्रकारको भूमिका ठूलो रहेको बताए । अवालेले भने, ‘पत्रकारको योगदानले कै कारण नेपाली कलाले देश विदेशमा चिनिने मौका पाएको छ । पत्रकारको यो योगदान कलाक्षेत्र कै लागि महत्वपूर्ण रहिआएको छ ।’ उनले पत्रकारिताको महत्वलाई आत्मसात् गरेर आमाको स्मृतिमा ‘लक्ष्मीमाया स्मृति ललितकला पत्रकारिता’ पुरस्कारका लागि योगदान गरेको जानकारी दिए । अवालले कालु कुमालेलाई यो ठाउँमा पु¥याउन लक्ष्मीमायाको विशिष्ट योगदान रहेको सुनाए ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज नेपाल) का अध्यक्ष केशव राज खनालले स्वर्गीय सिंहले अघि बढाएको गोरेटोमा अहिले ललितकला पत्रकार हिँडिरहेको बताए । उनले सिंहले पत्रकारितामार्फत कलाकारलाई चिनाउन योगदान दिएको जनाउँदै त्यसलाई सोफाजले संस्थागत गर्ने प्रयास गरेको विचार व्यक्त गरे । खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदान गर्न समाजले विगत सात वर्षदेखि पुरस्कार प्रदान गर्दै आएको जानकारी दिए । यस्तै, समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने संख्यामा रहेको बताइन् । उनले यस विधामा पत्रकार कम टिक्ने समस्या छ, कलाकार, कलाक्षेत्रको साझा प्रयासले पत्रकारलाई प्रेरित गर्नुपर्नेमा जोड दिइन् । समारोहमा सोफाजका महासचिव देवेन्द्र थुम्केली, सदस्य रामनाथ घिमिरे लगायतले कला सिर्जनाको विकासका लागि सोफाजको स्थापना गरिएको र पत्रकारिता विधामा ललितकला पत्रकारिता पनि महत्वपूर्ण छ भनेर चिनाउन सफल भएको बताए ।

प्रतिक्रिया