एकल महिला र विधुरलाई मासिक भत्ता

काभ्रे । जिल्लाका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष) लाई सामाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई दुई हजार रुपैयाँका दरले मासिक भत्ता दिइने भएको छ । पनौती नगरपालिकाले मासिक भत्तास्वरूप एकल महिलालाई दिइसकेको छ । ३५ वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको हो । नगरबाट मासिकरूपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताइन् । उनका अनुसार विभिन्न कारण एकल महिलाका रूपमा रहेका नगरका १ सय ९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । ‘दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौँ,’ बञ्जाराले भनिन् ।

पनौतीमा अविवाहित महिला १ सय ४९ छन् भने सम्बन्ध विच्छेद भएका २० र पति बेपत्ता भएका २४ महिला छन् । वितरित दुई हजार रुपैयाँले दैनिक गुजारा गर्न सहयोगी बन्ने अपेक्षा गरिएको बञ्जाराले बताइन् । नगर उपप्रमुख बञ्जारा आफैँ अविवाहिता महिला हुन् । यस्तै तेमाल गाउँपालिकाले विधुरलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । पालिकाको आर्थिक वर्ष ०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विधुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १ सय १० पुरुषले मासिक दुई हजार सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् । ‘एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौँ,’ पालिका प्रमुख सलामसिंह तामाङले भने । उनका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ ।

उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि–२०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन् । पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विधुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विधुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो । संघीय सरकारले दलित बालबालिका, अपांगता भएका व्यक्ति तथा ६५ वर्ष नाघेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया