काभ्रे । यतिबेला स्थानीय निर्वाचनको माहोल तात्दो क्रममा छ । जिल्लामा विभिन्न दलका विभिन्न व्यक्तिहरूले विभिन्न पदको लागि आफ्नो दाबी गरिरहेको अवस्था छ । केही ठूला पार्टीले पनि आफ्नो उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेका छन् । काभ्रेको १३ स्थानीय तहको १ सय ३५ वटा वडाहरूमा केही पार्टीले आफ्नो उम्मेदवार निर्विरोध चयनसमेत गरिसकेको अवस्था छ । नेकपा एमाले काभ्रेले भने पहिलो उम्मेदवार चौंरी देउराली गाउँपालिकाको प्रमुखमा जीतराम लामा र उपप्रमुखमा बबिता खरेललाई आफ्नो उम्मेदवार छानेको बताएको छ । यता यही तातो माहोलका बीच बनेपा नगरपालिकाको मेयर पदको लागि दुई स्वतन्त्र युवा उम्मेदवारले पनि आफ्नो दावी प्रस्तुत गरेका छन् ।
२२ पटकपछि लोकसेवा पास गरी अधिकृत बनेका कञ्चनराज गिरीले आफ्नो सेवाअवधि ६ महिना नबित्दै राजीनामा दिएर बनेपा नगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । उनले भने, ‘अब फर्कने कुरै छैन ! म कि फुल बनेर फक्रन्छु । कि बास्ना छरेर सिद्धिन्छु ।’ उनले नेपाल विद्युत् प्राधिकरणको मासिक एक लाख बराबरको तलब, भत्ता र सुविधाहरू छोडी यही २४ चैतमा उक्त पदबाट राजीनामा दिएका थिए ।
उनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको ‘मेयर’ पदमा चुनाव लड्ने सार्वजनिक घोषणा गरेका छन् । ‘युवाको साथ लिएर बनेपा बदलेरै छोड्ने हो’, उनले भने ‘इमानदारीले कमाएको पैसा कसैले पनि फजुल खर्च गर्न सक्दैन । मसँग सामाजिक संजालमा पोस्ट बुस्ट गरी प्रचार प्रसार गर्ने पैसा छैन । म रित्तो खल्ती बोकेर चुनाव लड्न निस्केको छु ।’ यस्तै अर्का युवा सामाजिक अभियन्ताको रूपमा परिचित राजानन्द माण्डव्यले पनि आफ्नो उम्मेदवारी बनेपा नगरपालिकाको मेयर पदको लागि रहने बताएका छन् । उनले २५ बुँदे लामो घोषणापत्रसमेत जारी गरी घरदैलो अभियानसमेत गरिरहेका छन् । माण्डव्यले भने आफू किसानको छोरो भएको र मेरो मुख्य प्राथमिकता पनि किसानको मर्म नै हुने बताएका छन् ।
प्रतिक्रिया