असिनाले प्वाल पार्ने विद्यालयको छानो !

गलकोट । असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ । तर, बागलुङमा असिनाले विद्यालयको छानो प्वाल पारेर क्षति पुर्याएको छ । दुई वर्षअघि निर्माण गरिएको बागलुङ नगरपालिका–७ स्थित गौरीशंकर प्राथमिक विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल परेर क्षति पु¥याएको हो ।

छानोमा प्वाल परेपछि पानी पसेर विद्यालयको कागजपत्र र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा ०७६ सालमा निर्माण गरिएको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठनपाठनमा समस्या भएको छ । असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत प्रश्न खडा भएको छ । ०७६ सालमा भूकम्प पुनःनिर्माण प्राधिकरण बागलुङ शाखाले २४ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए ।

‘ग्यारेन्टी छ भन्ने सुनेको थिएँ । त्यस नम्बरमा फोन गर्दा लाग्दैन । लुम्बिनी इञ्जिनियरिङबाट सामान खरिद गरिएको थियो’, उनले भने, ‘दुईवटा कक्षाकोठामा क्षति पु¥याउँदा अहिले पठनपाठनमा समस्या भएको छ ।’ असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले जनाएको छ । यस विषयमा छाना सप्लायर्सलाई निरन्तर सम्पर्क गर्न खोजिए पनि सम्भव नभएको बताइएको छ ।

प्रतिक्रिया