कर्णालीमा एमालेले थाल्यो उम्मेदवार चयन

सुर्खेत । स्थानीय तह निर्वाचनमा कर्णालीमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढेको छ । नेकपा एमालेले कर्णालीका १० जिल्लामध्ये केही जिल्लाका वडादेखि पालिका तहसम्मका उम्मेदवारको टुंगो लगाएको छ भने अन्यमा छलफल जारी छ ।

एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाअध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाअध्यक्षका उम्मेदवार चयन गरिसकेको छ । यस्तै, कर्णालीका अन्य जिल्लामा पनि उम्मेदवार चयन प्रक्रियाले तीव्रता पाएको छ । दैलेखको आठबीस नगरपालिकामा सोमवार वडाअध्यक्षको उम्मेदवार चयन गर्ने कार्यक्रम रहेको एमाले दैलेखले जनाएको छ ।

एमालेबाट चामुण्डाविन्दासैनीको मेयरमा सूर्यबहादुर

यस्तै, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले नगरप्रमुखको रुपमा पूर्व जिल्ला उपसभापति एवं भूमि आयोग दैलेखका पूर्व अध्यक्ष सूर्यबहादुर शाहीलाई उठाउने निर्णय गरेको छ । यसअघि पनि नगरपालिकाको मेयर अर्का सूर्यबहादुर शाही थिए ।

नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार ३० चैतसम्म अन्तिम समयावधी पार्टीले तोकेर पठाइसकेको उनले जानकारी दिए । सुर्खेतमा एमालले २१ वडामा सर्वसम्मत अध्यक्षसहित सदस्यहरूका उम्मेदवार चयन भइसकेको छ,’ उनले भने, ‘सोमबार थप वडामा सर्वसम्मत उम्मेदवार चयन हुनेछ ।’

यस्तै, नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले कर्णालीमा उम्मेदवार चयन प्रक्रिया तीव्र रुपमा भइरहेको जानकारी दिए । ‘हामीले दश वटै जिल्लामा सर्वसम्मत उम्मेदवार चयन गर्नेगरी अघि बढेका छौँ,’ शाहले भने, ‘प्रदेशका करिब एक चौथाई वडामा उम्मेदवार सर्वसम्मत चयन भएको खबर आइसकेको छ । अन्य वडामा पनि सर्वसम्मत चयनको प्रयास जारी छ ।’

चुनावलाई टार्गेट गरेर निरन्तर अघि बढिरहेको र वडाध्यक्ष उम्मेदवार चयन गरेर केही पालिका प्रमुख उपप्रमुखको उम्मेदवार चयन गर्ने अवस्थामा आफूहरू पुगेको शाहले बताए । ‘जस्तो दैलेखको नौमुले गाउँपालिकामा अध्यक्ष उपाध्याक्ष चयन अन्तिम प्रक्रियामा पुगिसकेका छौँ’, उनले भने ।

प्रतिक्रिया