नेपालगञ्ज । नेकपा एमालेले मेयर जितेको कोहलपुर नगरपालिकामा कार्यकाल भरी नै विवादै विवादमा परेकोले यसपाली चुनावमा बिरासत जोगाउन सकस देखिएको बेला एमालेले नगरप्रमुख र उपप्रमुखमा नयाँ नाम सिफारिस गरेको छ ।
सोमबार बसेको नगर कमिटीको बैठकले नगरप्रमुखमा ३ जना र उप प्रमुखमा ३ जनाको नाम सिफारिस गरेको एमाले कोहलपुरले जनाएको छ । एकातिर पार्टी विभाजन अर्कोतिर वर्तमान नगरप्रमुख लुटबहादुर रावतको कार्यकाल विवादित बनेको र आन्तरिक किचलो पनि चुलिएको बेला एमालेले नयाँ नाम सिफारिस गरेको छ ।
नगर कमिटिले कोहलपुरका पुराना तथा स्थापित नेता खिलप्रसाद भुसाललाई मेयरमा अगाडि सारेको छ । भुसालसँगै बसन्ति अधिकारी र गोपाल गिरीको नाम पनि सिफारिस गरेको छ ।
लामो समयको एमाले भित्रको अन्तरविरोधमा माधव नेपाललाई साथ दिएकी महिला नेतृ अधिकारीलाई आगामी मेयरको आश्वासन दिएर एकीकृत समाजवादीमा जानबाट जोगाएको एमालेले मेयरमा सिफारिस गरे पनि निर्णय हुने सम्भावना भने निकै कम रहेको एमाले स्रोतको दाबी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नतमस्तक भएर लगातार ओलीको बचाउमा भूमिका खेलेका खिलप्रसाद भुसाल नै एमालेको तर्फबाट कोहलपुरको प्रवल दावेदार मानिन्छन् । एमालेले कोहलपुर उपप्रमुखका लागि रेशम खत्री, अनिता पौडेल र अस्मिता थारुको नाम सिफारिस गरेको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली काग्रेसका भानुभक्त भट्टराइलाई ८७ मतले हराउँदै नगरप्रमुखमा एमालेका लुटबहादुर रावत र उपप्रमुखमा कांग्रेसका सन्जु चौधरी विजयी भएका थिए । गत चुनावमा नगरप्रमुखमा नेकपा मओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ६ हजार दुई सय मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया