फलेबासको पाँचवर्षे उपलब्धि सार्वजनिक

पर्वत । पर्वतको फलेबास नगरपालिकाले पाँचवर्षे उपलब्धिको विवरण सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रममा पाँच वर्षमा सम्पन्न सय उपलब्धिका विवरण सार्वजनिक गरिएको हो । नेपाल नगरपालिका संघबाट उत्कृष्ट भएर पुरस्कृत भएको उक्त नगरपालिकामा दर्जनाैं राम्रा अभ्यास र विकास निर्माणका कामलाई विवरणमा समावेश गरिएको छ ।

नगरपालिकाले जारी गरेको विवरणमा नगरविकास गुरुयोजना तथा नगरविकास योजना निर्माण, नगरको विकासका लागि गौरव तथा रूपान्तरण गर्ने खालका योजना कार्यान्वयन, भौतिक विकास, पूर्वाधार निर्माण, सामाजिक विकास, पर्यावरण संरक्षण तथा संस्थागत र सुशासनका क्षेत्रमा गरिएका प्रयासलाई समावेश गरिएको छ । सहरीकरण नभइसकेको नगरपालिकामा विगतमा ११ वटा गाउँविकास समितिलाई मिलाएर नगर घोषणा गरिएकामा धेरै पूर्वाधार तथा विकास निर्माणका काम हुन नसके पनि जनप्रतिनिधिले पाँच वर्षमा धेरै राम्रो प्रयास गरेका थिए ।

कालीगण्डकी जलाशययुक्त आयोजनाका लागि निरन्तर प्रयास गरिएको, पोखरा–कार्किनेटा–खानीगाँउ हुँदै बागलुङको जैमनी–गल्कोट जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक निर्माणलाई निरन्तरता दिइएको छ भने पोखरा, लुम्ले, अन्नपूर्ण पदमार्गबाट पर्यटकीय लाभ लिन योजनासहित मनमनोहन शान्तिबाटिका तथा खुम होमस्टे प्रवद्र्धनका काम अघि बढाइएको छ । यसैगरी ‘ग्रिन फलेवास, क्लिन फलेवास’ अभियान सञ्चालन गरिएको, क्लिन हाउस–ग्रिन हाउस, क्लिन स्कुल–ग्रिन स्कुल, क्लिन रोड–ग्रिन रोड र ग्रिन टोल–क्लिन टोल अभियान सञ्चालन गरिएकोे छ । यो अभियानमा पाँच हजारभन्दा बढी घरधुरी समावेश भएका थिए । ४ सय १२ किलोमिटर नयाँ सडकको ट्र्याक खनेको नगरपालिकाले आफ्नै दुई वटा डोजरमार्फत निरन्तर सडक सफा गर्नाका साथै ट्र्याक खोल्नेदेखि स्तरोन्नतिका काम पनि गर्दै आएको छ । बाहिरी तथा भित्री चक्रपथ निर्माण र लिंक रोड बनाउने काम पनि यो अवधिमा गरिएको जनाइएको छ ।

स्वास्थ्य सेवा, शिक्षा, औद्योगिक क्षेत्रका निकायबाट रोजगार सिर्जनालगायत नमुना काम पनि गरिएको छ । श्रमिकलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गर्दै पाँच सय रुपैयाँ जम्मा गर्ने श्रमिकलाई नगरपालिकाले पाँच सय थपेर भविष्यमा पेन्सन सुविधा दिने काम पनि सुरु गरेको छ । नगरप्रमुख पदमपाणी शर्माले आफ्नो टोली निर्वाचित भएर आएपछि फलेबासलाई हरेक क्षेत्रमा उत्कृष्ट बनाउन सफल भएको जिकिर गर्नुभयो । नगरपालिका संघबाट वित्तीय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा उत्कृष्ट पुरस्कार पाएको उक्त नगरपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मूल्याकंनमा गण्डकी प्रदेशका ८१ वटा स्थानीय तहमध्येबाट पनि उत्कृष्ट भएको थियो ।

वित्तीय जोखिम निरीक्षकका क्रममा फलेबासले ८७ दशमलव ७ अंक हासिल गरेको थियो । ‘हामीले गरेका सबै कामको मूल्यांकनका आधारमा मुलुकका १० उत्कृष्ट स्थानीय तहमा पर्न सफल भएका छौँ ।’ उनले भने, ‘आगामी दिनमा अझै भौतिक पूर्वाधार, सुशासन, संस्थागत तथा सामाजिक विकासका क्षेत्रमा पनि नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउने प्रयास हुनेछ ।’

यसैबीच उक्त नगरपालिकाको भवन निर्माणका लागि निःशुल्क जमिन दिने २० दातालाई सम्मान पनि गरेको थियो । वडा–५ स्थित झकलकमा नगरपालिकाको प्रशासनिक भवन बनाउन ६० रोपनी ८ आना जग्गा दिने जग्गादातालाई नगरप्रमुख शर्माले सम्मान गरे ।
यसरी सम्मानित हुनेहरूमा दयाराम सुवेदी, ढाकाराम सुवेदी, दिब्यकला सुवेदी, गोपाल शर्मा सुवेदी, लक्ष्मी सवेदी, महादेव शर्मा सुवेदी, मीना सुवेदी, नरबहादुर क्षेत्री, नारायणप्रसाद सुवेदी, प्रेमप्रसाद सुवेदी, पुण्यप्रसाद सुवेदी, राधादेवी सुबेदी रामबहादुर क्षेत्री, रामप्रसाद सुवेदी, स्थिरनारायण सुवेदी, सुमित्रा पौडेल, बलराम सुवेदी र युवकला सुवेदी छन् ।

दाताले निःशुल्क दिएको जग्गामा नगरपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिरहेको छ भने हाल ट्रस्टबाट कार्यालय भवन बनाएर सोही ठाउँबाट प्रशासनिक काम थालेको छ । उक्त स्थानमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने तयारी भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अदालतले काम नरोक्न अन्तरिम आदेश दिएपछि अहिले निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया