विललाई १० वर्ष प्रतिबन्ध

न्युयोर्क । ओस्कार अवार्ड प्रदान कार्यक्रममा प्रस्तोता एवं कमेडियन क्रिस रकलाई थप्पड हानेको घटनापछि हलिउड अभिनेता विल स्मिथलाई अनुशासनको कारबाही गरिएको छ । एकेडेमी अफ आर्टस् एण्ड साइन्सेजको निर्देशक समिति बैठकले उनलाई १० वर्षसम्म ओस्कारमा उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो । रोयटर्सका अनुसार १२ दिनअघि ओस्कार समारोहमा स्मिथले रकलाई थप्पड हानेका थिए ।
अभिनेता स्मिथले गत साता नै ओस्कार एकेडेमीबाट राजीनामा दिएका थिए । प्रतिबन्धको निर्णय सुनाउँदै एकेडेमी अध्यक्ष डेभिड रुबिन र प्रमुख कार्यकारी डन हड्सनले स्मिथको निन्दनीय र अस्वीकार्य व्यवहारले राम्रो नभएको जनाएका छन् । उनीहरुले भने, ‘ओस्कार समारोह फिल्म क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वले सेलिब्रेसन गर्ने अवसरसमेत हो । तर उक्त अवसर निन्दनीय र अस्वीकार्य व्यवहारले छायामा प¥यो ।’ ओस्कार समितिको निर्णयलगत्तै अभिनेता स्मिथले विज्ञप्ति जारी गर्दै एकेडेमीको निर्णयलाई आफूले सम्मानसहित स्वीकार्ने बताएका छन् । यसअघि पनि उनले रक, ओस्कार आयोजक र दर्शकप्रति उक्त घटनालाई लिएर माफीसमेत मागिसकेका छन् । विश्वकै प्रतिष्ठित फिल्म अवार्डले स्मिथलाई आगामी १० वर्षसम्म कुनै पनि ओस्कार समारोहमा भौतिक र भर्चुअल रुपमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको जनाएको छ । तर यो समयभित्र अभिनेता स्मिथ ओस्कार अवार्डमा मनोनयन हुन्छन् वा हुँदैनन् भन्ने खुलाइएको छैन ।

दासत्वबाट भाग्ने एक पात्रको कथामा बनेको स्मिथ अभिनीत थ्रिलर चलचित्र ‘इम्यानिसिपेसन’ यस वर्षको अन्त्यमा रिलिज हुने तयारीमा छ । तर यो चलचित्रको निर्माता कम्पनी एप्पल प्लसले २७ मार्चको उक्त कार्यक्रमपछि स्मिथ प्रकरणलाई लिएर खासै केही प्रतिक्रिया दिएको छैन । गत ओस्कार समारोहमा कमेडियन रकले स्मिथकी पत्नी जेडा पिंकेट स्मिथको स्वास्थ्य अवस्था र खौरिएको कपाललाई लिएर व्यंग्य गरेका थिए । त्यसपछि रिसाएका अभिनेता स्मिथले स्टेजमा पुगेर उनलाई थप्पड हानेका थिए ।

प्रतिक्रिया