नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अधिकारी सम्मानित

काठमाडौं । रिपोर्टस क्लब नेपालकाे २४औँ वार्षिकोत्सवमा नेपाली रेडियो नेटवर्कका संस्थापक तथा प्रबन्ध निर्देशक अमृत अधिकारी सम्मानित भएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनलाई ‘कुशल व्यवस्थापक’ को रुपमा सम्मान गरिएको रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई सम्मानपत्र प्रदान गरेका हुन् । पाल्पा जिल्लाको रामपुर नगरपालिका हेक्लाङमा जन्मिएका अधिकारी २०५९ सालबाट रेडियोमा प्रवेश गरेका थिए । त्यसअघि गायन क्षेत्रमा ख्याती कमाएका अधिकारीले एल्बमसमेत बजारमा ल्याएका थिए ।

आम सञ्चार विषयमा स्नातकोत्तर अधिकारीले नेपाल प्रेस इन्स्टिच्युटमा १० महिने पत्रकारिता तालिमपछि यस क्षेत्रमा रहिरहन प्रेरणा प्रदान भएको बतए । पाल्पास्थित रेडियो पश्चिमाञ्चलबाट काम सुरु गरेका अधिकारीले दुई वर्ष स्याङ्जाको वालिङमा रहेको रेडियो आँधीखोलाको स्टेशन म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

रेडियो उपत्यकामा म्यानेजर, नेपालवाणि नेटवर्कमा प्रशासन प्रमुखको जिम्मेवारी सम्हालिसकेका अधिकारी एक कुशल तथा संघर्षशील रेडियो व्यवस्थापक हुन् । २०७३ सालदेखि आफ्नै पहलमा नेपाली रेडियो नेटवर्कको स्थापना गरेका अधिकारी सामाजिक काममासमेत सक्रिय छन् ।

हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य तथा नेपाल सांस्कृतिक संघको सहमहामन्त्रीमा सक्रिय अधिकारी समाजसेवामा समेत सक्रिय छन् । उक्त सम्मानले आफूलाई पत्रकारीतामा थप जिम्मेवार बनाएको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया