मुगु । जिल्लाको छाँयानाथ रारा नगरपालिका–१२ का रन्न ऐडी ४६ वर्षका भए । उनी श्रीमतीभन्दा ठ्याक्कै तीन वर्ष कान्छा छन् । उनीहरूको विवाह भएको दुई दशकभन्दा बढी भयो । यो बीचमा उनीहरूले आठ सन्तान जन्माएका छन् ।
उनीहरूले रेडियो, टिभीमा बज्ने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने विज्ञापन नसुनेका पनि होइनन् । थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन । तर, छिमेकी र समाजले ‘छोरा नभएको’ भनेको सुन्नबाट बच्न उनले आठ छोरी पाइसकेका छन् । उनीहरू अझै पनि छोरा पाउने आशमा छन् ।
सानै उमेरमा विवाह गरेका रन्न अर्को वर्ष बुबा बनिहाले । त्यसयता हरेक डेढ दुई वर्षमा उनी बुबा बनिरहेका छन् । उनकी श्रीमती पनि छोराकै आसमा छन् । छोरा भए बुढेसकालमा सुख पाइने, अर्को जन्म पनि सफल हुने अन्धविश्वास ग्रामिण क्षेत्रमा अझै छ । यही अन्धविश्वाको शिकार बनिरहेका छन् दम्पती ।
वर्षेनी जस्तो परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीको स्रोत जस्ताको तस्तै हुँदा उनीहरू संकटमा छन् । पोषणयुक्त खानपान नहुँदा आमा र छोरीहरू कमजोर छन् । अहिले उनीहरूको साथमा सात छोरी छन् । एउटी छोरी जन्मने बित्तिकै बेतेको उनीहरू बताउँछन् ।
उनीहरूको जेठी छोरी २० वर्षकी भइन भने कान्छी तीन वर्षकी छन् । जेठी छोरीको विवाहवारी भइ दुई सन्तानसम्म पाइसकेकी छन । उनी पनि अहिले माइतीमै बसेकी छन् ।
यी दम्पतिले छोराको आसमा के मात्रै गरेनन् ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्योतिषसँग मन्त्र जपाय । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको बताए ।
उनले छोरीहरूलाई शिक्षाबाट भने बञ्चित पारेका छैनन् । घर नजिकैको विद्यालयमा छोरीहरूलाई पढ्न भने पठाउँछन् । उनको घर चलाउने मुख्य पेशा भेडा ब्यवसाय हो । त्यहि भेँडा पालनबाट घर खर्च र परिवारको लालनपालनमा भइसकेको उनले बताए ।–खड्क सुनार, न्युज कारखाना
प्रतिक्रिया