‘पत्रकारहरू नागरिकप्रति उत्तरदायी हुनुपर्छ’

दोलखा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकारहरू नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । पत्रकारहरूले समाज र नागरिकका लागि पत्रकारिता गर्ने हुनाले पेसालाई मर्यादित बनाउँदै नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । मंगलबार दोलखा सदरमुकाम चरिकोटमा पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको दुईदिने अनुसन्धानमूलक फिचर लेखन तालिमको उद्घाटन गर्दै पोखरेलले पत्रकारहरू राज्यको चौथो अंगको रूपमा रहेको र नागरिकहरूको विश्वासिलो पात्र भएकाले पेसाप्रति इमानदारीपूर्वक आफनो भूमिका निर्वाह गर्नुपर्ने बताए । पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धका कुनै पनि हर्कत स्वीकार गर्न नसक्ने बताएका छन् । श्रमजीवी पत्रकारहरूको हकहितका मुद्दाहरूमा कतै सम्झौता नगर्ने स्पष्ट पार्दै पोखरेलले पत्रकार महासंघ भनेको श्रमजीवी पत्रकारको संस्था रहेको बताए ।

सरकारले सूचना तथा प्रसारण कानुनमार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरिरहेको बताउँदै पोखरेलले सो कुरालाई लिएर आपत्ति जनाए । सूचना र सञ्चारका माध्यम प्रयोग गरेर खोज–अनुसन्धानमा लाग्न भन्नुपर्नेमा सञ्चारमाध्यम नै बन्द गरेर राख्न उद्धत हुने सरकारको रबैया ठीक नभएको उनले औँल्याएका थिए । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागार्इंको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं तालिमका प्रशिक्षक धमेन्द्र झा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रसारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघका दोलखाका पूर्वअध्यक्ष जीवन लामा, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कोइराला, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन घिमिरे र सचिव दिलबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए । महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं प्रशिक्षक झाले दुई दिनसम्म अनुसन्धानमूलक फिचर लेखनका विविध पक्षका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना पत्रकारहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया