बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार आरोपको मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वाकप्तान सन्दीप लामिछानेको पक्षमा फैसला सुनाएको छ । आज भएको अदालतकाे अन्तिम फैसलासँगै लामिछानेले बलात्कार मुद्दाबाट सफाई पाएका छन् ।

बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको हो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् ।

उच्चको यो फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन तत्काल फुकुवा गरेर टी–२० विश्वकपमा खेलाउने बाटो खुलेको छ । जिल्ला अदालतले दोषी ठहरर गरेपछि क्यानले उनलाई निलम्बन गरेको थियो ।

बलात्कार मुद्दामा गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्ट्याउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया