संखुवासभा बस दुर्घटना अपडेट : मृतक संख्या १५ जना पुगे

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ जना पुगेका छन् । दुर्घटनामा चालकसहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादीबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सिता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दिक्षा कटुवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानीप्रसाद दाहाल, ४८ वर्षीय दिपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय ईन्द्र अधिकारी छन् ।

मादी नगरपालिका–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की, आईतबहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएकी ३१ वर्षीया समिक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदिप घिसिङको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका– ५ बस्ने २७ वर्षीया युका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी दुर्घटनास्थमा पुगेको थियो ।

प्रहरीले घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया