इन्टरपोल-नेपाल प्रहरी सहकार्य : दुई अभियुक्तलाई नेपाल ल्याइयो

काठमाडौं । नेपालमा अपराध गरी विदेश फरार भएको आरोप लागेका दुई अभियुक्तलाई लामो समयको सक्रियतापछि नेपाल प्रहरीको इन्टरपोल शाखाको पहलमा पक्राउ गरी नेपाल ल्याइएको छ । यसका लागि नेपाल प्रहरीले लामो समयदेखि सक्रियता देखाउँदै आएको थियो ।
१५ वर्षअघि कास्कीको पोखरामा भएको एक हत्याकाण्डका आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा बहराइनमा पक्राउ गरी नेपाल ल्याएको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाको पहलमा हत्या आरधोपी अशोक गुरुङलाई मंगलबार नेपाल ल्याइएको हो । सामान्य विवादका क्रममा गुरुङले आफ्नै साथीलाई दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको आरोप लागेको छ । गुरुङलाई गत मंसिरमै बहराइन प्रहरीले पक्राउ गरे पनि सुपुर्दगी सन्धी नभएका कारण नेपाल ल्याउन समस्या थियो ।

नेपाल प्रहरीको एनसीबी (इन्टरपोल) शाखाको निरन्तर प्रयासपछि गुरुङलाई नेपाल पठाउन बहराइन सहमत भएको हो । गुरुङविरुद्ध कास्की जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलिरहेको छ । गुरुङले आपसी विवादका क्रममा २०६३ साल वैशाख २९ गते आफ्नै साथी रोजन राईमाथि दाउराको चिर्पटले आक्रमण गरेका थिए । आक्रमणपछि घाइते भएका राईको उपचारकै क्रममा २०६३ साल जेठ २ गते मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङले पोखराको सातमुहाने भन्ने स्थानमा दाउराको चिर्पटले हिर्काएर राईको हत्या गरेको आरोप प्रहरीको छ ।
हत्यालगत्तै गुरुङको संलग्नताबारे केही खुलेको थिएन । निरन्तर अनुसन्धान गर्दै जाँदा गुरुङको संलग्नता खुले पनि खोजी गर्दा उनी रोजगारीको सिलसिलामा बहराइन पुगिसकेका थिए । गुरुङ नेपाल नफर्कने देखेपछि प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो ।

नेपाल प्रहरीले गत मंसिरमा गुरुङको नाम रेड नोटिसमा हालेपछि बहराइन प्रहरीले गुरुङलाई पक्राउ गरेको जानकारी प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले दिए । गुरुङलाई लिन एनसीबीको टोली बहराइन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार घटना अनुसन्धान गर्दा हत्या अरोपीको कुनै हुलिया थिएन । अनुसन्धान गर्दैजाँदा मृतक राईको साथीसंगत र उठवसका मान्छेको खोजतलास गर्दा गुरुङको संलग्नता खुलेको जानकारी एसपी थापाले दिए ।

सुरुमा चिर्पट प्रहारबाट राई घाइते भएका थिए । उपचारका क्रममा चार दिनपछि उनको मृत्यु भएको थियो । गुरुङलाई मंगलबार नै कास्की लगिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलन गरी गुरुङलाई सार्वजनिक गर्ने तयारी भएको स्रोत बताउँछ । यसैगरी, श्रीमती हत्या आरोपमा विगत ६ वर्षदेखि फरार रहेका अभियुक्त सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादव पक्राउ परेका छन् । नेपाल प्रहरीले कतारस्थित इन्टरपोलको सहयोगमा यादवलाई पक्राउ गरि सोमबार नेपाल ल्याएको हो ।

यादवविरुद्ध आफ्नै श्रीमती आरती परियारको हत्या गरेको अरोप छ । उनले ललितपुर लेलेमा २०७२ साल वैशाख १५ गते बिहान धारिलो हतियार प्रयोग गरि घाँटइ रेटेर २५ वर्षीया आरतीको हत्या गरेको आरेप छ । हत्या गरी फरार रहेका यादबलाई कतारमा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

ललितपुर लेलेमा २०७२ साल वैशाख १५ गते विहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापछि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका यादबविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास भएको थियो । महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ साल पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ’डिफ्यूजन’ तथा पुनः २०७७ साल साउन १९ गते यादवविरुद्ध ’रेड नोटिस’ जारी गरिएको थियो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णकुमार केसीका अनुसार पक्राउ परेका यादवलाई थप कारबाहीका लागि महाशाखामा बुझाइएको छ ।

प्रतिक्रिया