रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौं । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित दुई सय ४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।

समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२÷१२, हंगेरीमा चार र माल्डावामा दुईजना नेपाली सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा एक सय ३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपाली दोस्रो मूलुक जान रोकिएका छन् ।

उनीहरुले सोमबार साँझसम्म सीमा पार गर्नसक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए । उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्याण्डको सीमा क्षेत्रमा आफै परिचालित भएको जानकारी दिए ।

प्रतिक्रिया