सेवा सहज बनाउन पूर्वाधारण निर्माण

बुटवल । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुनःनिर्माण भएको भवनको शुभारम्भ गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे । टोलस्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगरस्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ ।

वडाध्यक्ष कमलप्रताप थापाले आफूहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा गर्ने प्रतिवद्धता जनाए ।

करिब रु ३२ लाखमा सो वडा भवन पुनःनिर्माण भएर सेवा सुरु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनःनिर्माण गरी बनाइएको हो ।

त्यस्तै, उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब रु ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको ६ आवास गृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए । सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा नं ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुने छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । जम्मा १९ वडा रहेको बुटवल उप महानगरपालिकामा यसअघि वडा नं १० को भवन निर्माण भएको छ र वडा नं २ को पनि पुनःनिर्माण हुने तयारीमा छ ।

प्रतिक्रिया