आहा—रारा गोल्डकप : मनाङ र एपीएफबीच उपाधि भिडन्त

पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी ‘आहा—रारा गोल्डकप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको यो २०औं संस्करण हो । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ्ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो ।

पोखरा रंगशालामा भएको उक्त खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि हारजितका लागि पेनाल्टी सुटआउटको सहयोग लिइएको थियो । पेनाल्टी सुटआउटमा मनाङले बाजी मा¥यो ।

पेनाल्टी सुटआउटमा मनाङका लागि फ्राँकलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरेका थिए । मनाङका विश्व अधिकारीको प्रहार भने गोल पोस्टमा ठोक्किएर पुनः मैदानमै फर्किएको थियो ।

विभागीय टोली आर्मीका लागि भने कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले मात्र गोल गर्न सकेका थिए । दिपक गुरुङको प्रहार पोस्टमा ठोक्किएर फर्किएको थियो भने युद्ध शाहीको प्रहारलाई मनाङका गोलरक्षक अशोक बरालले बचाएका थिए ।

पेनाल्टी सुटआउटअघि दुबै टोलीले पाएको केही गतिला अवसर खेर फालेका थिए । पहिलो हाफमा मनाङका कप्तान विमल रानाले पेनाल्टी प्रहारमा गोल गर्न सकेनन् । खेलको नवौं मिनेटमा विमलले गरेको पेनाल्टी प्रहार बाहिर हुइँकिएको थियो । आर्मीका डिफेन्डर युद्द शाहीले संवेदनशील क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

आहा—रारा गोल्डकपमा आर्मी क्लब हालसम्म चारपटक फाइनलसम्म पुगेर पनि उपाधि चुम्नबाट भने बञ्चित हुँदै आएको छ । आर्मी क्लब २०६५, २०६६, २०७२ र २०७५ सालमा आहा—रारा गोल्डकपको फाइनल प्रवेश गरेको थियो ।

मनाङले अब प्रतियोगिताको फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ क्लब भने पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हराएर हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितााको फाइनल खेल आगामी शनिबार खेलिने आयोजकले जनाएको छ ।

सहारा क्लब पोखराले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पनि स्कुटर पुरस्कार पाउने छ ।

प्रतिक्रिया