अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइरहँदा

‘डिजिटल प्रविधिमार्फत भन्सार सेवालाई चुस्त बनाउने’ मुख्य नाराका साथ आज विश्वभरी नै भन्सार दिवस मनाइँदैछ । हरेक वर्षको जनवरी २६ तारिखका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको दशकौं बितिसकेको छ । एउटा देशको सामान अर्को देशमा भित्र्याउने क्रममा राखिने अभिलेखलाई सामान्य अर्थमा भन्सार भन्ने गरिन्छ । यसबापत संबन्धित देशले केही शुल्क लिने गर्छ । हाम्रो जस्तो बस्तु आयातमा भर पर्नुपर्ने विकासोन्मुख देशका लागि भन्सार शुल्कबापत हुने आम्दानीले राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो योगदान पु¥याउँछ । नेपालको कुल राजस्वमा भन्सार शुल्कको योगदान ४० देखि ४५ प्रतिशतको हाराहारीमा रहने गरेको छ । तर नेपालमा उपभोग हुने आधाभन्दा बढी विदेशी बस्तुहरू भन्सार छलीमार्फत अर्थात चोरबाटोबाट आयात भइरहेका छन् । यदि विदेशबाट अयातित बस्तु सबैमा कानुनअनुसार भन्सार असुल गर्ने र चुहावट हुन नदिने हो भने नेपालको अर्थतन्त्र चलायमान हुन बेर लाग्दैन । कुल राजस्वमध्ये वार्षिक करिब चार खर्ब रुपैंया भन्सारबाटै संकलन हुने गरेको छ । यदि भन्सार चुहावट तथा चोरी पैठारी नियन्त्रण गर्ने हो भने वार्षिक चार खर्ब रुपैयाँ थप राजस्व संकलन हुने विज्ञहरू बताउँछन् ।

डिजिटल प्रविधिमार्फत भन्सार सेवालाई चुस्त बनाउने नारा अन्तर्राष्ट्रिय भन्सार दिवस २०२२ का क्रममा गरिरहँदा नेपालको अवस्था ज्यादै दयनीय छ । हाम्रो मुलुकको ९५ प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार भारत तथा भारतको बाटो हुँदै गरिन्छ । तर, नेपाल र भारतबीच खुला बोर्डर छ । निर्वाध आवतजावत हुन्छ । आधाभन्दा बढी जनसंख्याको बसोवास तराई क्षेत्रमा छ । नुन, चिनी, चियापत्ती मात्रै होइन तरकारी किन्न पर्दा पनि भारतीय बजार जाने प्रचलन तराई क्षेत्रमा छ । यस्तो प्रक्रियाद्वारा दैनिक अर्बाैं रुपैयाँको बस्तु आयात हुन्छ, तर यस्तो आयात भन्सारको रेकर्डमा रहँदैन । त्यसो त भारतीय सीमा क्षेत्रका नेपाली कर्मचारी तथा जनप्रतिनिधि स्वयंले समेत भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रूपमा प्रयोग गर्छन् ।

भन्सार छल्नु भनेको अपराध हो, तर भन्सार छली गर्नुलाई नै बहादुरी ठान्ने गरिएको छ । राज्यलाई तिर्ने राजस्व आफ्नै लागि हो भन्ने जनचेतना फैलाउनुपर्ने दायित्व बोकेका कर्मचारी तथा राजनीतिकर्मीहरू स्वयंले नै भन्सार छलीका लागि जनतालाई प्रेरित गर्ने गरेको दुर्भाग्यपूर्ण अवस्था हाम्रो मुलुकमा छ । यस्तो अवस्था रहँदासम्म भन्सार दिवस मनाउनुको कुनै अर्थ छैन् । भन्सार दिवस आर्थिक अनुशासन र जनताको सेवासँग संबन्धित छ । तर, भन्सार छल्ने प्रवृत्तिले हाम्रो मुलुकमा क्यान्सरको रूप धारण गरिसकेको छ भने अर्कोतर्फ कानुनबमोजिम भन्सार तिरेर बस्तु आयात गर्न चाहने जिम्मेवार नागरिक तथा व्यापारीहरूलाई अनेक बहानामा कर्मचारीहरूले दुःख दिने प्रवृत्ति जारी छ । यो प्रवृत्ति अन्त्य गर्नका लागि डिजिटल प्रविधि अपरिहार्य छ ।

डिजिटल प्रविधिले भ्रष्टाचार कसरी न्यून गर्छ ? भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन, काठमाडौं महानगरपालिकाको उदाहरण हेरे पुग्छ । डिजिटल प्रविधि नअपनाउँदासम्म काठमाडौं महानगरपालिकामा वार्षिक राजस्व २ अर्ब ५० करोड रुपैयाँ संकलन हुन्थ्यो, डिजिटल प्रविधि अपनाउनासाथ राजस्व आम्दानी एकै वर्षमा नौ अर्ब रुपैयाँ नाघ्यो । यसकारण भन्सारलाई डिजिटल प्रविधिमा लैजानु अपरिहार्य छ । यसबाहेक भन्सार नाकाभन्दा बाहिरबाट खुला सीमाको दुरुपयोग गरी विभिन्न मालबस्तु चोरी पैठारी गरी मुलुकको विभिन्न स्थानमा अवैध रूपमा सामान बिक्रीवितरण गर्ने प्रवृत्ति रोक्नुपर्छ । भन्सार बिन्दुबाट सामान पैठारी गर्दा मालबस्तुको वर्गीकरण, मूल्यांकन, परिमाण, गुणस्तर र उत्पत्तिको देशसमेत गलत घोषणा गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्छ । पैठारी हुने सामानको न्यून मूल्य घोषणा गरी वास्तविक कारोबार रकम नदेखाई भन्सार, आयकर र मूल्य अभिवृद्धि करसमेत चुहावट गर्ने अवस्थालाई नियन्त्रण गर्नुपर्छ ।

भन्सार बिन्दुको नजिकमा गोदाम खडा गरी चोरी पैठारी भएका र चोरी निकासी गर्ने मालवस्तु भण्डारण र कारोबार गरी भन्सार राजस्व चुहावट गर्ने गरेको समेत पाइएको छ । विभिन्न क्यारिङ फर्महरूबाट विदेशबाट मालसामान आयात गर्ने र त्यसरी आयातित मालसामानको वीजक वास्तविक खरिदकर्तालाई जारी नगरी असम्बन्धित व्यक्ति फर्मको नाममा जारी गरी आयकर र मूल्य अभिवृद्धी कर चुहावट हुने गरेको छ । राजस्व चुहावट गर्ने गराउने कार्यमा लेखापरीक्षक, कर सहयोगी, भन्सार एजेन्टसमेत प्रत्यक्ष रूपमा संलग्न हुने मतियारी गर्नेजस्ता पेसागत मर्यादा विपरीतसमेत क्रियाकलाप हुने गरेको छ ।

प्रतिक्रिया