अस्ट्रेलियन ओपन टेनिस : नाडाल अन्तिम चारमा

मेलबर्न । स्पेनिस खेलाडी राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा मंगलबार भएको क्वार्टरफाइनल खेलमा क्यानडाका डेनिस सापालोभलाई हराएर नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् । पाँचौं वरीयताका नाडालले १४औं वरीयताका डेनिसमाथि ६–३, ६–४, ४–६, ३–६, ६–३ अंकको प्रतिस्पर्धात्मक जित हासिल गरे । नाडाल सातौं पटक अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

नाडालले हालसम्म २० पटक विभिन्न ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितिसकेका छन् । उनले हालसम्म १३ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसका अतिरिक्त उनले चारपटक यूएस ओपन, दुईपटक विम्बल्डन र एकपटक अस्ट्रेलियन ओपनको उपाधि चुमेका छन् । नाडालले सन् २००९ मा अस्ट्रेलियन ओपनको उपाधि कुम्ल्याएका थिए ।
यसैगरी महिला एकलतर्फ माडिसन किज र आस्लिघ बार्टी सेमिफाइनलमा पुगेका छन् । अमेरिकी खेलाडी किजले बार्बोरा क्रेजिसकोभालाई ६—३, ६—२ को सोझो सेटमा पराजित गरिन् । बार्बोरा हाल चौथो वरीयतामा आसिन खेलाडी हुन् ।

यसअघि २६ वर्षीया अनुभवी खेलाडी किजले चौथो चरणको खेलमा आठौं वरीयतामा आसिन पाउला बाडोसालाई ६—३, ६—१ को सोझो सेटमा पराजित गरेकी थिइन् । किज अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेको यो पहिलो पटक हो ।
यसअघि उनी कुनै पनि ग्रान्डस्लाम प्रतियोगितामा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन् । उनी सन् २०१४ मा अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको तेस्रो चरणसम्म पुगेकी थिइन् । अस्ट्रेलियन खेलाडी बार्टी भने क्वार्टरफाइनल खेलमा जेसिका पेगुलालाई ६—२, ६—० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिएकी हुन् ।बार्टी हाल पहिलो वरीयतामा आसिन खेलाडी हुन् । पेगुला भने २१औं वरीयताकी खेलाडी हुन् । बार्टी अमान्डा आसिमोभालाई हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया