स्वास्थ्यकर्मीमा कोरोना : अस्पतालको सेवा प्रभावित

चितवन । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण तीव्ररूपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडी र नियमित शल्यक्रिया सेवा आइतबारबाट बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडी हेर्ने चिकित्सकले कोभिड–१९ का बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरंग सेवामा चाप घटाउन बिहान ८ः३० बजेदेखि जिओपिडी सञ्चालन गरेको थियो ।

छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यतासमेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमणको लक्षण देखिएको छ ।

दैनिक यो संख्या बढ्दो छ । अन्य विभागमा जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १ सय ३६ स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले भैmँ सञ्चालन गर्न नसकिएको उनले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताउँछन् । उनले भने, ‘सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोप लगाउन काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।’ भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी यही ढंगले संक्रमित बढ्दै गए सामान्य अवस्थाका संक्रमित चिकित्सक स्वास्थ्यकर्मीले संक्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनले भने, ‘सबै संक्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्यो नि ।’

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आधा संक्रमित भइसकेको बताए । उनले भने, ‘सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन् । परीक्षण ग¥यो भने उनीहरूमा पनि संक्रमण देखिन सक्छ ।’ यस्तै अवस्था रहेमा संक्रमितले संक्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ । छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरू ढुक्क रहेको न्यौपाने बताउँछन् । जिल्लामा संक्रमितको संख्या २ हजार ७ सय ३६ पुगेको छ । उनीहरूमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेसनमा छन् ।

प्रतिक्रिया