पुतला नाचको रौनकता

डोटी । कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला गाउँ–गाउँमा पुतला नाँच (पर्व) सुरु भएको छ । डोटीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पुतला खेल्ने महिला तथा किशोरीको उल्लेख्य सहभागिता रहेको छ । कोरोनाबाट जोगिन स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि गाउँघरमा नाच खेल्ने तथा अन्य पर्व मनाउने गरिएको छ । पुतला नाचले गाउँघरमा निकै रौनकता बढेको छ । सुदूरपश्चिमलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले किशोरी तथा महिला पुतला खेलमा रमाएको दिपायल सिलगढी नगरपालिका–५ की शान्ति भण्डारीले बताइन् । उनले भनिन्, ‘पुतला खेल हाम्रो मौलिक पर्व हो । वर्षको एक पटक खेल्न पाइने भएकाले हामी अहिले पुतला खेल्नमा रमाएका छौँ ।’ सुदूरपश्चिमका अछाम, बझाङ लगायतका गाउँमा समेत पुतला पर्व खेल सुरु भएको छ । परम्परागत रूपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रूपमा प्रचार प्रसार हुँदै आएको समाजसेवी पार्वती चन्दले बताइन् । उनका अनुसार पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडाका गीत गाइने गरिन्छ । नयाँ पुस्ताले त्यति चासो नदिँदा यो नाच विस्तारै हराउने चिन्ता बढेको महिला बताउँछन् । मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रूपमा यो नाच प्रदर्शन गर्ने गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिए ।

उनले भने, ‘पुतला नाच हाम्रो सुदूरपश्चिम चिनाउने नाच (पर्व ) हो, यसलाई जर्गेना गर्न जरुरी छ ।’ नारीका मार्मिक पीरव्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले छिटो फरिया, रातो चौबन्दी र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पंक्तिबद्ध भएर बिरहका गीत गाउँदै नाच्दा सुदूरपश्चिमका पहाडी बस्तीमा बेग्लै रौनकता आउने गर्दछ । पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन नसकेको जनाउँदै स्थानीयवासीमा चिन्ता व्यक्त गर्न थालेका छन् ।
पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको पूर्वीचौकी गाउँपालिका–२ की कलापति साउदले गुनासो गरिन् । उनले भनिन्, ‘पुराना पुस्ताले नयाँ पुस्तालाई पुतलाबारे नसिकाउँदा र जानकारी नदिँदा यो नाच विस्तारै लोप हुँदै गएको छ । यसमा राज्य तथा सरोकारीले ध्यान दिँदै संरक्षण गर्नुपर्छ ।’ यो पर्व १५ पुसदेखि माघ ६ गतेसम्म धुमधामका साथ मनाइने प्रचलन छ । यहाँको परम्पराअनुसार १५ पुसलाई वर्षभरिको लामो रातको रूपमा लिई रातभरी गाउँखाने कथा भन्ने, जाग्राम बस्ने, तरुल, सखरखण्ड खाने रातको रूपमा लिने संस्कृति रहेको छ । त्यही रातिदेखि पुतला पर्वको सुरुवात हुने स्थानीयवासी धौलीदेवी विष्टले जानकारी दिइन् । उनका अनुसार पुतला पर्वलाई यहाँ ठाउँ अनुसार फरक–फरक नामले भन्ने गरिन्छ । कुनै ठाउँमा पुतला तथा कुनै ठाउँमा रनपुतला भन्ने चलन रहेको उनको भनाइ छ ।

कतिपय ठाउँमा संरक्षणको लागि मठ–मन्दिर, पुराना धारा, पाटीपौवा नजिकै पुतला सेलाउने गरिन्छ । पुतला पर्वमा विवाह भएका नभएका छोरीचेली राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतलीजस्तै भएर सजिने र गाउँ–गाउँमा पुतली नाचेजस्तै गरी डेउडा लगायतका खेल खेल्ने पर्व भएको दिपायल सिलगढी नगरपालिका–४ का वडासदस्य पार्वती पार्कीले बताइन् । उनका अनुसार विवाह गरेर पराई घर गएकी छोरीबहिनी (महिला) माघी पर्व र बिसौं पर्वको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरकोे मुख्य संस्कृतिको रूपमा हेरिँदै आएको छ ।

पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रूपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा आपसी सद्भावको सेतु यसै पर्वले दोहो¥याएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक भेषभूषा लुकेको बताउँदै यस्ता संस्कृितलाई जोगाउनुपर्नेमा जोड दिए । उनले पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी हुनुका साथै स्थानीय सरकारले संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सुदूरपश्चिमका विभिन्न संस्कृतिमध्ये पुतला पर्व मौलिक पर्व हो, सरकारी क्षेत्रबाट पनि यसको संरुक्षण गरिनु जरुरी छ ।’

प्रतिक्रिया