तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । ‘सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख ) मा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ । हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सहप्रवक्ता पुस्कार कार्कीले बताए ।

अब, मूल्य समायोजन गर्दै जाँदा पनि मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ । हाल निगमलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ । चालु आर्थिक वर्षको ६ महिनामा भारतीय आयल निगमबाट १२ पटक नयाँ मूल्य प्राप्त भएकोमा हरेक पटक बढेर मूल्य आएको तर निगमले जम्मा तीन पटक मूल्य समायोजन गरेको जनाएको छ ।

आयल निगम सुधारेकाे भन्दै चर्चा कमाएका  सुरेन्द्र पाैडेल  तीन वर्षे कार्यकाल पुरा गरी बाहिरिएकाे  एकमहिना नवित्दै  सञ्चित मुनाफा रित्तिएकाे भन्दै विज्ञप्ति निकालेकाे छ । पौडेल निगमबाट गत विहीबार बिदा भएका थिए । पौडेलले निगम र समस्त उपभोक्ताको हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै सेवा अवधिभर काम गरेको जिकिर गरेका थिए । पौडेललाई २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थिए । पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरि ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटेर काम गरेको पौडेलले बताएका थिए ।

प्रतिक्रिया