प्रधानमन्त्री कप क्रिकेट : पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब लगातार तीन खेल जित्दै प्रधानमन्त्री कप टीट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ८९ रनले हरायो ।

जारी प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जित हो । जितसँगै पुलिसले तीन खेलबाट ६ अंक जोडेको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ४४ रनको विशाल स्कोर तय गर्यो ।

पुलिसका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ८२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका कुशलले केवल ३९ बलको सामना गरी तीन छक्का र नौ चौका पनि प्रहार गरे । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा ६२ रनको योगदान गरे । उनले केवल २८ बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काए । पवन सर्राफले २२ रन बनाए भने कप्तान मञ्जित श्रेष्ठले १९ रन र आरिफ शेखले अविजित १८ रनको योगदान गरे ।

तल्लोक्रमका ब्याट्सम्यान दिलिप नाथले पनि टोलीको टोलीको खातामा अविजित ३१ रन थपे । उत्कृष्ट प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान दिलिपले केवल १० बलको सामना गरी तीन छक्का र एक चौका प्रहार गरेका थिए । कर्णाली प्रदेशका बलर अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाहीले दुई÷दुई विकेट लिए ।

कर्णाली प्रदेशले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रनमात्र बनाउन सक्यो । कर्णाली प्रदेशका ब्याट्सम्यान प्रकाश जैशीले ६८ रनको योगदान गरे पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४७ बलमा तीन छक्का र ६ चौका प्रहार गरे ।

अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । पुलिसका बलर दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले दुई÷दुई विकेट लिए । पुलिसले यसअघि सुदुरपश्चिम प्रदेशलाई दुई रन र त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गरेको थियो । कर्णालीको भने चार खेलमा यो तेस्रो पराजय हो ।

यसैगरी सशस्त्र प्रहरी बलको एपीएफ क्लब पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपीएफ क्लब लगातार चार खेल जित्दै सेमिफाइनलमा पुगेको हो । आफ्नो पछिल्लो खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो ।
पहिलो ब्याटिङ गरेको लुम्बिनीले नौ विकेट गुमाएर एक सय चार रन बनायो । एपीएफ क्लबले ११ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पार ग¥यो । लुम्बिनीका लागि देव खनालले ४३ रन बनाए । एपीएफका बलर कमल ऐरी, किशोर महतो, अविनाश बोहोरो र दिपक बोहोराले दुई÷दुई विकेट लिए ।

एपीएफका लागि ब्याट्सम्यान प्रदिप ऐरीले ३६ र आशिफ शेखले ४३ रनको योगदान गरे । प्रदिपले २० बलको सामना गरी चार छक्का र दुई चौका तथा आशिफले २६ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । उक्त खेलमा आशिफ शेख म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । सूदूरपश्चिम प्रदेशले एक सय १५ रन बनायो । आर्मीले सात विकेट गुमाएर विजयलक्ष्य पार ग¥यो । आर्मीका बिक्रम सोव म्यान अफ दि म्याच घोषित भए ।
उनले २२ बलमा अविजित २९ रन बनाए । त्यसअघि उनले ६ विकेट पनि लिएका थिए । उनले चार ओभरमा केवल आठ रन खर्चिएका थिए । चार खेलमा दुई जित र एक बराबरीको नतिजा निकालेको आर्मी पाँच अंकसहित दोस्रो स्थानमा छ ।
समूह ‘बी’ को अर्को खेलमा बागमती प्रदेशले प्रदेश नम्बर २ लाई पाँच विकेटले पराजित ग¥यो । प्रदेश नम्बर २ ले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रन बनायो । बागमीत प्रदेशले १९.४ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।

उक्त खेलमा बागमीतका प्रतिश जिसी म्यान अफ दि म्याच घोषित भए । उनले अविजित २२ रन बनाए भने एक विकेट पनि लिए । तीन खेलबाट चार अंक बटुल्दै बागमती प्रदेश तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया