मन्त्री आले आफ्नो क्यारिकेचर हेरेर मख्ख

(तस्बिर सौजन्यः भोलानाथ पौड्याल)

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा बिहीबार अचानक संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आले पुग्छन् । पृथ्वीजयन्तीको अवसरमा गरिएको कला प्रदर्शनी अवलोकन गर्नेक्रममा उनी त्यहाँ चलिरहेको ‘पहिलो महिला क्यारिकेचर कार्यशाला’ मा छिर्छन् । ‘ओहो, मेरो पनि कार्टुन बनाइदिनुहोस न, मिल्छ !,’ मन्त्री आलेले अनुरोध गर्छन्, ‘भैहाल्छ’नि,’ भन्दै कार्टुनिस्ट अविन श्रेष्ठ तयार हुन्छन् । कार्टुनिस्ट क्लबका पूर्वअध्यक्षसमेत रहेका अविनले क्यारिकेचर बनाइरहँदा बीचबीचमा मन्त्री आलेले रमाइलो पनि गर्थे, ‘मेरो त कार्टुन बनाउन पनि सजिलै होला नि, पुक्क गाला र ठूलो भुँडी बनाए त म बनिहाल्छु होला होइन !’ उनले लाफिङ बुद्धको शरीरमा आफ्नो टाउको जोडिदिँदा पनि कार्टुन बन्छ होला भन्दै रमाइलो गर्थे । १५ मिनेटमा कार्टुनिस्ट अविनले मन्त्री आलेको क्यारिकेचर बनाए । कार्टुन देखेर मन्त्रीले प्रतिक्रिया दिए, ‘ओहो, ठ्याक्कै बनाउनुभएछ, धन्यवाद । यो कार्टुन त म लग्छु मिल्छ होला’नि !’ अविनको स्वीकृतिपछि उनले आफ्ना सहयोगीलाई अ¥याए, ‘यो लगेर गाडीमा राखी हाल्नुहोस त फेरि छुट्ला ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र नेपाल कार्टुनिस्ट क्लबले आयोजना गरेको ले गरेको दुई दिवसीय ‘प्रथम महिला क्यारिकेचर कार्यशाला’ को सन्दर्भ हो । क्यारिकेचर बनाउने क्रममा कार्टुनिस्ट अविनले मन्त्रीको कार्टुन पहिलो पटक बनाएको बताए । आलेले सम्झना गर्दै भने, ‘हात्तीमाथि गँैडा भन्दै तपाईले नै बनाउनुभएको होइन र ?’ अविनले सो कार्टुन रविन्द्र मानन्धरले बनाएको जानकारी दिए । उनले भने, ‘पत्रिकामा मन्त्रीज्यूको कार्टुन बनाउने दिन नआओस् । कार्टुनले राम्रो नभएको विषयलाई उठाउने भएकाले मन्त्री आलेको हालसम्म कार्टुन बनाउनु परेको छैन र त्यस्तो दिन नआओस् ।’

कार्यशाला अवलोकनपछि मन्त्री आलेले कलामा सिर्जनात्मक र सन्देश हुनुपर्नेमा जोड दिए । उनले प्रतिष्ठानका कुलपति केके कर्माचार्यलाई यस्ता सिर्जनात्मक कार्यशाला अझ बढी दिनसम्म चलाउन समेत आग्रह गरे । कार्यशालामा कला विषय पढाइने आठ मावि र क्याम्पसबाट २३ जनाको सहभागिता रहेको छ । कार्यशालामा सहभागीले कला, संगीत, चलचित्र लगायतका क्षेत्रका चिनिएका व्यक्तित्वको क्यारिकेचर उतारेका छन् ।

कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति कर्माचार्यले कला र सिर्जनाको आयाम निकै फराकिलो रहेको सुनाए । उनले क्यारिकेचर कार्यशालाले पक्कै पनि नेपालमा कार्टुन क्षेत्र र यसको व्यवसायिक पक्षलाई व्यापक बनाउन मद्दत गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । सो अवसरमा क्यारिकेचरको ऐतिहासिक पक्ष, प्रविधि र वर्तमान अवस्थाका बारेमा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले धारणा राखेका थिए । उनले क्यारिकेचरमा व्यक्तित्वसँगै बनाउने व्यक्तिको स्वभाव पनि झल्किनुपर्नेमा जोड दिए । उनले भने ‘क्यारिकेचर कलाको विशिष्ट रुप हो । यसले व्यक्तिको व्यक्तित्व र स्वभावलाई कलात्मक ढंगले उन्ने काम गरेको हुन्छ ।’ क्लबका पूर्वअध्यक्ष कार्टुनिस्ट अविन श्रेष्ठले कयारिकेचरका विविध आयाम र पक्षका बारेमा जानकारी दिँदै यसको शिल्पगत पक्षमाथि प्रकाश पारेका थिए । उनले क्यारिकेचरका गुण र दोषका साथै फाइदाका बारेमा चर्चा गरे । उनले भने, ‘कला र पत्रकारिताको बेजोड संगमका रुपमा क्यारिकेचरलाई लिइन्छ । यसमा बिर्गादा पनि मानिसको व्यक्ति र स्वभाव आउँछ, जसले मानिसमा व्यंग्यसँगै हाँस्यभाव पैदा गर्दछ ।’

कार्यशालामा सहभागीलाई लक्षित गर्दै कार्टुनिस्ट अविनले कुलपति कर्माचार्यको र नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले प्राज्ञ रमेश खनालको क्यारिकेचर बनाए । कार्यशालामा क्लबका महासचिव रवि मिश्र र कार्यकारी सदस्य उमेशचन्द्र अधिकारीले समेत सहजीकरण गरेका थिए । क्लबका अध्यक्ष क्षितिजले सिर्जनाको क्षितिजलाई फराकिलो पार्दै महिला कलाकारको नेपाली कार्टुन क्षेत्रमा सहभागिता बढाउने उद्देश्यका साथ कार्यशाला गरिएको बताए । उनले क्लब र प्रतिष्ठानले कार्टुन तथा क्यारिकेचरका सन्दर्भमा हरेक वर्ष कार्यक्रम गर्दै आएको सुनाउँदै यस पटक कोरोना संक्रमणलाई समेत ख्याल गर्दै पहिलो पटक महिलालाई लक्षित गरेर कार्यशाला गरिएको सुनाए । क्षितिजले भने, ‘निरन्तर गरिने गतिविधि, सिर्जनात्मक कार्य र बहसले नेपाली कार्टुन क्षेत्र समृद्ध बन्दै गएको छ । यसमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको साथ सहयोग निकै महत्वपूर्ण रहिआएको छ ।’

प्राज्ञ रमेश खनालले नेपाली व्यंग्यचित्रका क्षेत्रमा प्रतिष्ठानले निरन्तर विविध कार्यक्रम गर्दै आएको र त्यसैको निरन्तरताको रुरुपमा कार्यशाला गरिएको बताए । उनले भने, ‘कार्टुन समाजलाई सचेत बनाउने कलाको महत्वपूर्ण विधा हो । यसले विकृति विसंगतिविरुद्ध सधैं घच्चाउने भएकाले आममानिसको समेत यसप्रति निकै रुचि रहेको पाउँछौं ।’ उनले कार्यशाला शुक्रबार समापन गरिने जानकारी दिए ।

प्रतिक्रिया