बोरिस जोनसनलाई भारी पर्दै लकडाउनमा पार्टी

लण्डन । बेलायतमा लगाइएको पहिलो लकडाउनका बेला कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन् । जोनसनले समेत पहिलो लकडाउनका बेला प्रधानमन्त्री कार्यालयभित्र रक्सीसहितको भोज (पार्टी) आयोजना गरेको स्वीकारिसकेका छन् । उनले २०२० को मे महिनामा डाउनिङ स्ट्रिटस्थित कार्यालयमा भएको भोजका लागि माफीसमेत मागिसकेका छन् । उक्त घटनापछि बढेको जनआक्रोशलाई आफूले बुझेको पनि उनको भनाइ छ ।

यसैबीच, सत्तारुढ दल कन्जर्भेटिभ पार्टीका वरिष्ठ नेताहरूले जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन भनेका छन् । स्कटल्याण्डका कन्जर्भेटिभ नेता डगलस रोससहित सत्तारुढ सांसद विलियम ¥याग, क्यारोलिन नोक्स र रोजर गेललगायत नेताहरूले जोनसनको राजीनामा मागेको बीबीसीले जनाएको छ ।

‘उहाँ प्रधानमन्त्री हो र उहाँको सरकारले यी नियम लागू गरेको हो’, सांसदसआमेत रहेका नेता रोसले भने, ‘उहाँ आफ्नो कार्यप्रति जवाफदेही बन्नुपर्छ ।’ त्यस्तै, सार्वजनिक तथा संवैधानिक मामिलाका अध्यक्षसमेत रहेका ¥यागले लकडाउनमा भोज गरेका कारण जोनसन रक्षात्मक अवस्थामा पुगेको भन्दै राजीनामा दिन भनेका छन् ।

तर, उपप्रधानमन्त्री डोमिनिक राबसहित मन्त्रिमण्डलका सदस्य भने जोनसनको पक्षमा उभिएको छ । हालै पहिलो लकडाउनका बेला जोनसनले १०० यभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएको थियो । उक्त इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १०० भन्दा बढी कर्मचारीलाई एक भोजमा आफैं रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल मे २०२० मा कर्मचारीलाई पठाइएको थियो ।

प्रधानमन्त्री कार्यालयभित्रको बगैचामा भएको भोजमा जोनसन र उनकी श्रीमती क्यारीसहित झण्डै ४० जना सहभागी भएको बताइन्छ । रक्सीसहितको उक्त भोजका बेला बेलायतमा पहिलो पटक लकडाउन गरिएको थियो । तर बाहिर हुने जमघटमा २ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम लागू गरेर कार्यालयभित्रै भोज गरेको इमेल बाहिरिएपछि जोनसनको थप आलोचना भएको छ । सरकारी अधिकारीले आफैं कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियम पालना नगरेको तथ्य बाहिरिएपछि जनआक्रोश समेत बढेको छ । जोनसनको नेतृत्वमा रहेको सरकारले भने कोभिड–१९ का मापदण्ड उल्लंघन नगरेको बताउँदै आएको छ ।

प्रतिक्रिया