सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

काठमाडौं । राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ एक सय नौ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको एक सय आठ केजीको कीर्तिमान भंग गरेका हुन् ।

सन्देशले स्न्याचमा एक सय नौ केजीसहित क्लिन एन्ज जर्कमा एक सय ३७ केजी गरी कुल दुई सय ४६ केजी भार उठाउँदै स्वर्ण पदक जिते । उक्त स्पर्धामा एपीएफ क्लबका सुजन विकले रजत पदक र धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य पदक जिते ।

सिनियर पुरुष एक सय दुई केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान बनाए । उनले स्न्याचमा एक सय ११ र क्लिन एन्ड जर्कमा एक सय ५० केजी गरी कुल दुई सय ६१ केजी भार उठाए । यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा एक सय तीन केजी र क्लिन एन्ड जर्कमा एक सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । उक्त स्पर्धामा आर्मीका विनोद खड्का दोश्रो र एपीएफका रणबहादुर नगरकोटी तेश्रो भए ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित उक्त प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो भए । उनले स्न्याचमा एक सय पाँच केजी र क्लिन एन्ड जर्कमा एक सय ३० केजी गरी कुल दुई सय ३५ केजी भार वहन गरे । उक्त स्पर्धामा सेनाका दिनेश कार्की दोश्रो र एपीएफका सन्तोष चौधरी तेश्रो भए ।

जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्यले स्वर्ण जिते । उनले स्न्याचमा ७३ केजी र क्लिन एन्ड जर्कमा एक सय पाँच केजी गरी कुल एक सय ७८ केजी वजन उठाए । उक्त स्पर्धामा चितवनका समिर थापा क्षेत्रीले रजत र पर्साका शिवनारायण यादवले कांस्य हात पारे ।
यसैगरी युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एन्ड जर्कमा समान ९०÷९० केजी गरी कुल एक सय ८० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे । मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा भएको उक्त प्रतियोगिताको युथतर्फ महिला ८१ केजीमा कास्कीकी सिन्जल गुरुङ पहिलो भइन् । सिन्जलले स्न्याचमा ३३ केजी र क्लिन एन्ड जर्कमा ४२ केजी गरी कुल ७५ केजी वजन उठाइन् ।

सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी कुल एक सय ६२ केजी भार उठाउदै पहिलो भइन् । ८१ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन् । जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी कुल एक सय ३८ केजी वजन उचालिन् ।

यसैगरी महिला ८७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन् । विद्याले स्न्याचमा ६३ केजी र क्लिन एनड जर्कमा ७८ केजी गरी कुल एक सय ४१ केजी वजन उचालिन् । एपीएफकी निशाना बलाल दोश्रो भइन् । ८७ केजीमाथि आर्मीकी अस्मिता राई पहिलो भइन् । अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल एक सय १० केजी भार उचालिन् ।

जुनियर पुरुषको एक सय दुई केजीमा आर्मीका निरज सिग्देल पहिलो भए । उनले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी जम्मा एक सय ३० केजी भार वहन गरे । सिनियर पुरुषको एक सय नौ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए । उनले स्न्याचमा एक सय सात केजी र क्लिन एन्ड जर्कमा एक सय २५ केजी गरी कुल दुई सय ३२ केजी वजन उचाले ।

यसैगरी एक सय दुई केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे । उनले स्न्याचमा एक सय २० केजी र क्लिन एन्ड जर्कमा एक सय ४० गरी कुल दुई सय ६० केजी भार वहन गरे । प्रहरीका सागर भण्डारी दोश्रो र सिरहाका प्रतापकुमार चौधरी तेश्रो भए ।

विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया