राष्ट्रिय भारोत्तोलन : सञ्जु र जुनुमायाको कीर्तिमान

काठमाडौं । बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् । १३औं दक्षिण एशियाली खेलकुदकी स्वर्णधारी सञ्जुले ५९ केजी तौलसमूहको सिनियरतर्फ आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् । सञ्जुले स्नाचतर्फ ७४, क्लिन एण्ड जर्कमा ९७ र कुलमा एक सय ७१ केजी तौलमा सुधार गर्दै बुधबार स्नाचमा ७८, क्लिन एण्ड जर्कमा ९८ र कुलमा एक सय ७६ केजी तौल उचालिन् । उक्त स्पर्धामा सेनाकी प्रसंशा पुन दोस्रो र सशस्त्र प्रहरी बलकी सरिता लामा तेस्रो भए । यसैगरी ७१ केजी तौल समूहमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमान बनाइन् । उनले स्नाचमा ६८ र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल एक सय ५६ केजी भार बहन गर्दै कीर्तमान बनाएकी हुन् । यसअघि उक्त कीर्तिमान प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो ।

थापाले तेश्रो सुनिल लाल स्मृती भारोत्तोलन प्रतियोगितामा स्नाचतर्फ ६७ र क्लिन एन्ड जर्कतर्फ ८७ गरी कुल एक सय ५४ केजीको कीर्तिमान राखेकी थिइन् । उक्त स्पर्धामा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ दोस्रो भइन् । सशस्त्र प्रहरीकै अन्जली श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । नेपाल भारोत्तोलन संघको आयोजनामा भएको उक्त प्रतियोगिताको ५९ केजी तौल समूहको युथतर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६, क्लिन एण्ड जर्कमा ६० र कुलमा एक सय ६ केजी भारका साथ स्वर्ण पदक हात पारिन् ।

महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४०, क्लिनमा ५६ र कुलमा ९६ केजीका साथ स्वर्ण हात पारिन् । उक्त स्पर्धामा बर्दियाकी सामना थारुले दोस्रो र सप्तरीकी सन्तोषी यादवले तेस्रो स्थान हासिल गरे । यसैगरी जुनियरतर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६, क्लिन एन्ड जर्कमा ५३ र कुलमा ९९ केजी भार बहन गरिन् । दाङकी राधिका चौधरीले रजत पदक जितिन् । ५५ केजीकै सिनियरतर्फ सेनाका खेलाडीले बर्चस्व कायम गरे ।

उक्त स्पर्धामा सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङले रजत र अस्मिता पुलामीले कांस्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिन एन्ड जर्कमा ६८ र कुलमा एक सय २० केजी तौल उचाले । प्रतियोगितामा प्राविधिकको भूमिका निर्वाह गरेका संजय महर्जनका अनुसार समान तौल बहन भए तापनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्रार्थमिकता प्राप्त हुने नियम रहेका कारण समान तौल भएता पनि सृजनाले दोश्रो स्थान प्राप्त गरेकी हुन् ।

यसैगरी महिलाको ६४ केजी तौलमा बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८, क्लिन एन्ड जर्कमा ५६ र कुलमा एक सय चार केजी भार बहन गरिन् । ललितपुरकी खुशी थापाले दोस्रो स्थान हासिल गरिन् । जुनियरतर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण जितिन् । उक्त स्पर्धाको सिनियरतर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७, क्लिन एन्ड जर्कमा ८० र कुलमा एक सय ४७ केजी तौल उचालिन् । प्रहरीकी देवी चौधरी दोस्रो र प्रहरीकै पुजा कुमाल तेश्रो भए ।

पुरुष ७३ केजीको सिनियरतर्फ सेनाका जीवन तामाङले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ र क्लिन एन्ड जर्कमा एक सय १३ गरि कुल एक सय ९९ केजी भार उचाले । सशस्त्र प्रहरीका राहुल कुमार दास दोस्रो र कास्कीका धनबहादुर झाक्री मगर तेस्रो भए । यसैगरी ७३ केजीको जुनियर र युथतर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए । जुनियरतर्फ सशस्त्र प्रहरीका लाहाङ थाम्सुहाङले रजत जिते । कञ्चनपुरका अभिषेक बिष्ट तेस्रो भए ।

प्रतिक्रिया