खोजखबर

हिमपात र सञ्चार अभावमा याङ्मा

दिलिपकुमार लिम्बु २०७८ पुष २८ गते ७:२२ मा प्रकाशित

चाँदी जस्तै टल्किने हिमालहरू । चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ सुरुआत हुन्छ । बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिए जस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङ्बासी आफूलाई गर्वको महसुस गर्छन् । त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको छ ।

पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो । ताप्लेजुङका लेकदेखि बेंसीसम्म हिउँ आइपुग्यो । धेरैको जनजीवन प्रभावित हुन पुग्यो । मिक्खोला गाउँपालिका—५ पापुङका बाबुछोरा चौँरी गोठ सर्ने क्रममा हिमपहिरामा परे । तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन । ओढारमा बसेको छ दिनमा मात्र उनीहरू आफैँ हिँडेर गाउँ आइपुगे । समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको याङ्मा बस्ती भने हिमपातसँंगै अहिले सम्पर्कबिच्छेद बनेको छ ।

चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मामा हिमपात भएसंँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताए । सदरमुकाम फुङ्लिङदेखि एक दिन सवारी साधन र बाँकी दुई दिन पैदल यात्रामार्फत तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङ्गोलाको याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्मामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कबिच्छेद भएको हो ।

एघार घरका करिब ४० जनाको स्थायी बसोबास रहेको यहाँको मुख्य पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बिमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले याङ्मा समुदायले याक गोठ छाड्न सकेको छैन ।
चीनका बजारमा प्रतियाक ६० हजार रुपैयाँदेखि एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् । छुर्पी र घिउ प्रतिकिलो एक हजार २०० सय रुपैयाँमा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताए । याङ्मा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो । करिब तीन वर्षदेखि भने चीनतर्फको नाका बन्द छ । यसबाट आर्थिक संकटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ ।

विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात जस्ता भौतिक पूर्वधार पुग्न सकेको छैन । विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो । यहाँ अहिलेसम्म स्वास्थ्यचौकीस्थापना भएको छैन । यहाँका मानिस बिरामी भएमा जंगलमा पाइने जडिबुटी नै औषधोपचारको स्रोत हुने गरेको । यहाँ अहिले बिजुली बत्तीसमेत छैन । परिषद्ले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन । त्यस समयमा अन्धकारमा नै बस्नुपर्ने हुन्छ ।

याङ्मा गाउँमा सञ्चारको पहुँच सहज छैन । सञ्चार आदानप्रदान गर्नुप¥यो भने खोला तरेर दुई घण्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि गत साता बाक्लो हिमपात भएसंँगै याङ्मा समुदाय सम्पर्कमा आउन नसकेको ताम्लिङ शेर्पाले बताए । हिमपात हुनुअघि नै शेर्पा भने सदरमुकाम फुङ्लिङ झरेका थिए । ताम्लिङले भने, ‘मेरा छोराबुहारी याङ्मामै छन् । एक याक गोठ छ । ७० वटा याक छन् । अहिलेसम्म फोन सम्पर्क भएको छैन, ।’

उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताए । लामो समयसम्म फोन सम्पर्कमा नआउँदा याङ्मा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका—६ घुन्साका सेराप शेर्पाले बताए । उनले भने, ‘मेरो पनि ससुराली याङ्मा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आउनुभएको छैन ।’ याङ्मा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्य पदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुन सक्ने फक्ताङलुङ गाउँपालिका—७ का वडाध्यक्ष छेतेन लामाले बताए । उनले भने, ‘याङ्मा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर हिउँ पर्ने समयमा याक गोठहरू पनि हिमपहिराबाट जोगिन सक्ने ठाउँहरूमा सारिएको छ ।’

वरिपरि हिमालले घेरेको र याङ्मा खोलाको किनार खोँचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीय ६५ वर्षीय ताम्लिङ शेर्पाले बताए । सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको छ । देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङले गुनासो गरे ।

याङ्माकै छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको गुनासो गरे । भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैंँ मनमा पीडा हुने गरेको ताम्लिङले सुनाए । छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने उनले सुनाए ।

उनीहरु जस्तै सञ्चार सुविधा नहुँदाको पीडा याङ्मावासी सबैलाई छ । सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको छ । जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङ्गोला पुग्नुपर्छ । ओलाङ्चुङ्गोलामा भने करिब एक वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ । मोबाइल टावर राख्नुअघि ओलाङ्चुङ्गोलामा पनि सञ्चारको समस्या उस्तै थियो ।

बर्खामा याङ्मा–ओलाङ्चुङगोला आवतजावत पनि बन्द हुन्छ । पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले याङ्मा जान सकिँदैन । याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा याङ्मासंँग सम्पर्क टुट्ने गर्छ । याङ्मा गाउँदेखि एक÷डेढ घण्टा टाढा डाँडाडाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ । स्काईमा सम्पर्क भइहाले पनि कुराकानी भने सहजरूपले गर्न सकिदैँन ।
थोरै परिवार र कम जनसंख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पु¥याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
ओलाङ्चुङगोलाबासीसमेत रहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेनले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताए । केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एसटिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँच बाहिर छ । छेतेनका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठ्ठीपत्र पठाउनुपर्ने अवस्था छ । याङ्मा गाउँसम्म केही सूचना पु¥याउनु परेमा मान्छे नै गएर सूचना दिने वा चिठ्ठी पठाउनुपर्ने हुन्छ । कुनै पनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको छेतेनले बताए ।

प्रायः याक गोठमा समय बिताउने याङ्माबासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँँडामा निस्केर ठूलो आवाजमा कराउनुपर्छ वा सुसेली हाल्नुपर्छ । ठूलो आवाज र सुसेली सुनेपछि बल्ल एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको स्थानीयवासी याक गोठाला कान्देग्याबु शेर्पाले बताए ।

स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चले पनि अहिलेको सूचना र प्रविधिका समयमा पूरै गाउँबस्ती सञ्चारविहीन हुनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसोसिएसन महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बूले बताए । हाल तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ ।
हाल ताप्लेजुङमा २० मोबाइल टावर सञ्चालन भइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । नौ टावरमा फोरजी सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय प्रमुख शिवकुमार सिंहले बताए । एघार टावरले टुजी सेवा सञ्चालन हुँदै आएको छ । अहिले सञ्चारको पहुँज नपुगेको याङ्मा क्षेत्रमा मोबाइल सेवा पु¥याउन सरोकार पक्षसँग समन्वय गरिने प्रमुख सिंहले जानकारी दिए ।

गत असोजको दोस्रो साता जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले जिल्लाका १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराएका थिए । पूर्वमन्त्री भट्टराईले टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेटी सोसम्बन्धी मागपत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न आग्रह गरेका थिए ।

ताप्लेजुङ पर्यटन, कृषि, ऊर्जा, व्यापारलगायत क्षेत्रमा अत्यन्तै राम्रो सम्भावनायुक्त जिल्ला भए पनि आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुँदा यहाँका व्यापार, व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर सर्वसाधारणको दैनिक जीवन पर्ने समस्यामा छ । जिल्लामा अप्टिकल फाइबार तत्काल जिल्ला पु¥याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरिएकोे छ ।

मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघु, मेरिङ्देन गाउँपालिका–६ नाल्बु, फक्ताङलुङ–६ लुवाडाँडा, आठराई गाउँपालिका फूलबारी, फुङलिङ नगरपालिका दोखु, देउलिंगे, मिक्खोला – ५ किलिङ, सिरिजंघाा गाउँपालिका–५ खेवाड, सिदिङ्वा गाउँपालिका–१ कालीखोला, फक्ताङ्लुङ–७ याङ्मालगायत क्षेत्रमा टेलिफोन टावर राख्न माग गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा माग गरिएको मोबाइल टावर राख्ने हो भने सबै क्षेत्रमा सञ्चारको पहँुच पुग्न सक्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय