रातोमार्सी धानको चामल : आयुर्वेद र ओली

मोहनप्रसाद सापकोटा

केही समयअघि भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जुम्लाको मार्सी चामलका बारेमा प्रशंसा गर्दै बोलेका कुरा प्रायः हामी सबैले उनले बोलेका अन्य कुरासरह ठानी हल्का रूपले लिँदै उडायौँ । सधैँ झूट बोल्ने गोठालो भएपछि कुनै दिन साँच्चिकै बाघ आएर वस्तु खान लाग्दा मागिएको गुहारमा पनि मानिसले विश्वास नगर्दा रहेछन् । खैर छाडौँ यी कुरा के रातोमार्सीको भात खान नहुने नै रहेछ त ? जिभ्रोलाई होइन दिमागलाई एकपटक सोध्ने कि ?

आयुर्वेदका पुस्तकमा आजभन्दा करिब पाँच सय वर्षअघि पनि यस क्षेत्रमा धानलाई प्रमुख अन्नका रूपमा व्याख्या गरिएको पाइन्छ । तत्कालीन धानका अधिकांश जात र नाम अहिले पाइँदैन । तर त्यसबेला वर्णन गरिएका केही धानका जात र नाम अझै पनि यस क्षेत्रमा अस्तित्वमै रहेका छन् । कुनै पनि देश विश्वकै लागि स्वतन्त्र प्रयोगशाला बनाइँदा त्यस देशका आफ्ना भन्ने सबै खाले मौलिकता लोप हुँदा रहेछन् । नेपाल यस्तै एउटा देश हुन पुगेको छ । प्रायः सबै विकसित देशमा कुनै गेडागुडी वा अनाज लैजान निषेध गरिँदो रहेछ । आफैंले घुमेका अमेरिका, सिंगापुर आदि देशमा यो कुरा आपैmँले अनुभव गरेँ । स्थानीय प्रजातिमा वर्णसंकरता आउन नदिन र संरक्षण गर्न यसो गरिँदो रहेछ । तस्करहरूको प्रयोगशाला बनाइएको हाम्रो देशको कुरा के खोतल्नु ?

आजभन्दा पाँच सय वर्ष अघि धानको उत्पादन निम्नअनुसार हुँदो वा गरिँदो रहेछ (१) डँढेलो लागेको जमिनमा उम्रने नाभो धान । (२) डँढेलो लागेको जमिनमा लगेर छरिने धान । (३) जोतिएको खेतमा आफैं उम्रने नाभो धान । ४) जोतिएको खेतमा लगेर छरिने वा रोपिने धान । (५) बाँझो जमिनमा उम्रने नाभो धान । (६) बाँझो जमिनमा लगेर छरिने धान । (७) काटेको बोटमा पुनः पलाएर फल्ने धान ।

त्यसबेलाका अनेक जात र उपजातका धानमध्ये शालीधानलाई प्रमुख धानका रूपमा बताइएको छ । शालीधानको नेपाली नाम मार्सीधान हो । कसैकसैले यसलाई बासमती वा अगहनी पनि भनेका छन् । शालिधानका अनेक जात बताइएका छन् र त्यसमध्ये रक्तशालीलाई सबभन्दा उत्तम धान बताइएको छ । रक्तशालीको नेपाली नाम रातोमार्सी वा जाडेमार्सी हो ।

विभिन्न थरी मार्सीधानका गुण र अवगुण :
(क) मार्सीधान : मार्सीधानको चामल गुलियो, टर्रो, चिल्लो, बलदायक, हल्का दिसा लगाउने, पचाउन हलुका, रुचिवर्धक, स्वरलाई फाइदा गर्ने, वीर्यशाली, पौष्टिक, थोरै वातविकार र कफविकार गर्ने, शीतल गर्ने, पित्तविकार नाशक र पिसाब धेरै लगाउने गुणको हुन्छ ।

(ख) डँडेलो लागेको जमिनको नाभो मार्सीधान : जुन मार्सीधान जलेको (डढेको) जमिनमा उम्रेको हुन्छ त्यो धानको चामल टर्रो चाँडै पच्ने, मलमूत्र निकाल्ने, रुखो तथा कफलाई तान्ने वा कम गर्ने गुणको हुन्छ ।

(ग) खनजोत गरिएको जग्गाको नाभो मार्सीधान : जोतिएको खेतमा आपँैm उम्रने शालीधानको चामल वातविकार कफविकार नाशक, पचाउन कठिन, कफ र शुक्रवर्धक, टर्रो, केही दिसा खुलाउने, दिमागको ग्रहण गर्ने क्षमताका लागि हितकर र बलवर्धक हुन्छ ।

(घ) बाँझो जमिनमा नाभो उम्रेको मार्सीधान : बाँझो जमिनमा नाभो उम्रेको शालीधानको चामल स्वादिलो, पित्तविकार र कफविकार नाशक, वातविकार र जठराग्नि (पाचनशक्ति) वर्धक, केही तीतो र टर्रो तथा पचेपछि पनि पिरो हुन्छ ।

(ङ) खानजोत गरिएको वा बाँझो जग्गामा छरिएको वा रोपिएको मार्सीधान : जोतेको वा बाँझो जग्गामा रोपिएको शालीधानको चामल मिठो, वीर्यवर्धक, बलदायक, पित्तविकार नाशक, कफविकार बढाउने, अलिअलि दिसा निकाल्ने, पचाउन कठिन र शीतल गर्ने गुणको हुन्छ ।

(च) धान काटिसकेपछि त्यही बोटमा पलाएको मार्सीधान : धान काटिसकेपछि त्यही बोटमा पलाएको मार्सीधानको चामल शीतल गर्ने, रुखो, बलदायक, पित्तविकार नाशक, कफविकार नाशक, कब्जियत गराउने, टर्रो, पचाउन सहज र हल्का तीतो स्वादको हुन्छ ।
जोतिएको वा नजोतिएको जमिनमा नाभो उम्रने मार्सीधानको चामलको गुणस्तर रोपिएको शालीधानको चामलको गुणस्तरभन्दा केही कम हुन्छ ।

नयाँ र पुरानो मार्सीधानका चामलको गुण :
रोपिएको शालीधानको चामल नयाँ भए वीर्यवर्धक र पुरानो भए पचाउन हलुका हुन्छ । त्यही धान पुनः रोपेर हुने मार्सीधानको चामल चाँडै पच्ने र बढी गुनिलो हुन्छ ।
श्रेष्ठ धान ः धानमध्येमा मार्सीधान र मार्सीधानमध्येमा रक्तशाली (रातोमार्सी) श्रेष्ठ हुन्छ ।
रातो मार्सीको चामलका फाइदा : (क) शरीरलाई बल दिन्छ । (ख) शरीरको वर्णमा निखार लेराउँदछ । (ग) कफविकार, पित्तविकार र वातविकार (त्रिदोष) नाश गर्दछ । (घ) रातोमार्सी आँखाका लागि फाइदाजनक हुन्छ । (ङ) यसले स्वरलाई लाभ गर्दछ । (च) शुक्र वा वीर्य बढाउँदछ । (छ) तिर्खा वा तिर्खालागिरहने रोग नाश गर्दछ । (ज) जरो नाश गर्दछ । (झ) विषविकारलाई मत्थर पार्दछ । (ञ) शरीरमा घाउखटिरा आउन दिँदैन र आएका घाउखटिरालाई पनि चाँडै निको पार्दछ । (ट) दमका रोगीलाई यसले लाभ दिन्छ । (ठ) खोकी ठीक गर्दछ । (ड) शरीरमा हुने डाह (भतभती पोल्ने, जलन) कम गर्दछ । (ढ) मधुमेहका रोगीले पनि यो चामलको भात खान हुन्छ । (ण) यसले पाचनशक्तिलाई बलियो बनाउँदछ ।

 

रातो मार्सीचामलका बेफाइदा :
आयुर्वेदका ग्रन्थमा यसको एउटै अवगुण बताउँदै भनिएको छ कि यसले पिसाब धेरै लगाउँदछ ।
उपसंहार :
हरेक कुरा राजनीतिक आँखाले हेर्ने संस्कार बसाइएकोले फरक आस्था हुनेले बताएका वा बताउने राम्रा कुरालाई पनि हामी हल्का ढंगले लिई उडाउने गर्दछौँ । जसले जसलाई बढी उडाउन वा गाली गर्न सक्यो त्यही ठूलो हुने जमाना आयो । आफूसँग सम्बन्धित विषयको ज्ञान नभए पनि विरोध नगरी नहुने संस्कार बसाइयो । गलत भयो, गलत भइरहेछ ।

केही समयअघि भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जुम्लाको मार्सी चामलका बारेमा प्रशंसा गर्दै बोलेका कुरा प्रायः हामी सबैले उनले बोलेका अन्य कुरासरह ठानी हल्का रूपले लिँदै उडायौँ । सधैँ झूट बोल्ने गोठालो भएपछि कुनै दिन साँच्चिकै बाघ आएर वस्तु खान लाग्दा मागिएको गुहारमा पनि मानिसले विश्वास नगर्दा रहेछन् । खैर छाडौँ यी कुरा के रातोमार्सीको भात खान नहुने नै रहेछ त ? जिभ्रोलाई होइन दिमागलाई एकपटक सोध्ने कि ?

प्रतिक्रिया