पर्यटन प्रवद्र्धनका लागि पैदलमार्ग निर्माण

दोलखा । दोलखाको तामाकोसी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि पैदलमार्ग निर्माण कार्यको शिलान्यास गरेको छ । गाउँपालिकाको सात वटै वडाको संगमस्थलका रूपमा रहेको कालीदेवि मन्दिर–देउरालीगढी–हिले गढीसम्मको करिब साढे चार किलोमिटर लामो सो पदमार्गको निर्माणको शिलान्यास गरेको हो । गाउँपालिकाकाअनुसार यो वर्ष संघको साढे तीन करोड र पालिकाको २ करोड २४ लाख ३५ हजार रुपैयाँको लागतमा करिब चार किलोमिटर सुविधा सम्पन्न पदमार्ग निर्माण गर्न लागिएको हो । बहुवर्षीय रूपमा १५ किलोमिटर पदमार्ग निर्माण गरिने लक्ष्य राखिएको छ ।

उक्त पदमार्ग निर्माणको बिहीबार तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले शिलान्यास गरेका छन् । पदमार्ग शिलान्यास गर्दै गाउँपालिका अध्यक्षले पोखरेलले तामाकोसी गाउँपालिकाको पर्यटन विकास पूर्वाधारलाई थप विकसित गर्दै पालिकामा आन्तरिक पर्यटक तथा पैदलयात्री वृद्धि गर्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागेको बताए । पालिकाले उक्त पैदलमार्ग निर्माण गर्न ५ करोड ७४ लाख ३५ हजार ४ सय रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको छ ।

गाउँपालिकाकै उच्च ठाउँ निर्माण हुने पैदलमार्ग निर्माणको जिम्मा लुम्बिनी बन्दन भगवती कुस–जेभी काठमाडौंलाई दिइएको छ । समयमा नै निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने गरी तीव्र रूपले निर्माण कार्य अगाडि बढाइने निर्माण कम्पनीका प्रतिनिधि सुन्दर कार्कीले बताए । निर्माण व्यवसायी कार्कीले यो वर्ष पनि पैदलमार्ग निर्माणको काम समय नै निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिने बताए । निर्माण व्यवसायी लार्की गतवर्ष गाउँपालिकाका विभिन्न विकास निर्माणका काम समयमा नै सम्पन्न गरेको भन्दै सम्मानितसमेत भएका थिए ।
निर्माण कम्पनीले १८ महिनाभित्र कामसक्ने गरी गत मंसिरमा ठेक्का सम्झौता गरिसकेको छ । उक्त पैदलमार्ग सुविधासम्पन्न हुने बताइएको छ । पदमार्ग कालिदेवी मन्दिरदेखि देउराली गढी हिलेसम्म निर्माण हुनेछ ।

गाउँपालिकाले चालु वर्षको महत्वपूर्ण योजनाको रूपमा पदमार्ग निर्माण गर्न लागेको यो योजना दोलखामा नै पहिलो भएको गाउँपालिका उपाध्यक्ष उर्मिला खड्काले बताइन् । गाउँपालिकादेखि आसपासका पालिकासम्म पुग्न १५ किलोमिटर सुविधासम्पन्न मार्ग निर्माण गर्ने योजना बनाए पनि रकम अभावले चालु वर्षमा बजेटले धान्ने चार किलोमिटर मात्रै निर्माण थालिएको हो । पदमार्ग फलामे रेलिङ, खानेपानीको सुविधा तथा शौचालय समेतको सुविधा हुनेगरी निर्माण गर्न लागिएको गाउँपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया