कांग्रेस महाधिवेशन : १ हजार ९ सय ९३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा १ हजार ९ सय ९३ मत खसेको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ४ः३० बजेसम्म १ हजार ९ सय ९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

१ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ६ सय ८६ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा १ हजार ३ सय ७ मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा २ हजार १ सय र १ हजार ३ सय तथा राष्ट्रिय सभा गृहमा १ हजार ३ सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७ सय ४३ रहेको छ ।

प्रतिक्रिया