सिराहा प्रहरीका एसपी आचार्य तीन महिनामै प्रधान कार्यालय तानिए, रमेश पण्डित आउँदै

सिरहा । विचौलियासँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप लागेका सिराहा प्रहरीका एसपी सन्तोष आचार्य प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

हुण्डी कारोबार र तस्करीको सेटिङ मिलाउने काममा नाम चलेका स्थानीय साह थरका व्यक्तिसँग मिलेर आचारण विपरितको काम गरेको उनीमाथि आरोप थियो ।

तीन महिनाअघि मात्र सिराहा प्रहरीको प्रमुखका रुपमा सरुवा भएका आचार्यसँगै इलामका एसपी वासुदेव खतिवडालाई पनि फिर्ता बोलाइएको छ । त्यसैगरी सिराहामा रमेश पण्डितलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले भने उनीहरुलाई हटाउनुको कारणबारे केही बताएको छैन । यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए । तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए ।

एसपीसम्मको सरुवा आईजीपीले गर्छन् । सामान्यतया कार्यालय प्रमुखलाई एक वर्षभन्दा कम अवधिमा हटाउन नपाउने र हटाउन परे कारण दिनुपर्ने नियमावलीको व्यवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवामा हस्तक्षेप नगर्ने तर अनियमिततामा मुछिनेविरुद्ध कडा कारबाही गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया