बाल बधूको रूपमा बेचिएकी बालिकाको उद्धार

काबुल । बाल बधूको रूपमा बेचिएकी अफगानिस्तानकी नौ वर्षीया पर्वाना मलिकको उद्धार गरिएको छ । एक सहायता समूहले उनको उद्धार गरेको हो । उद्धारपछि उनले आफू साँच्चै खुसी भएको बताइन् । उद्धारपछि आफूले नयाँ जीवन पाएको उनको भनाइ छ । ‘सहायताकर्मीले मलाई नयाँ जीवन दिए । म पढेर डाक्टर बनी मानिसको सेवा गर्न चाहन्छु,’ उनले भनिन् ।

बेचिनुअघि पनि उनले आफ्नो पितासँग शिक्षाका लागि याचना गरेकी थिइन् । गएको महिना सीएनएनले पर्वाना र अरू धेरै कम उमेरका बालिकाहरू आफ्नै पिताद्वारा बेचिइरहेको बारेमा रिपोर्टिङ गरेको थियो । सीएनएनको रिपोर्टिङपछि अन्तर्राष्ट्रिय रूपमा आवाज उठेको थियो । यससँगै समुदायले खरिदकर्ताको विरोध गरेपछि पर्वाना परिवारमा फर्किएकी हुन् ।

उद्धारकार्यमा संलग्न बालविवाहविरुद्ध काम गर्दै आएको अमेरिका आधारित गैरनाफामूलक संस्था टु योङ टु वेड (टीवाइटीडब्ल्यू)ले बेचिएकालाई घर फिर्ता गर्नु अस्थायी समाधान भएको भन्दै विवाहका नाममा बालिका बिक्री हुनबाट जोगाउन प्रयास गरिरहेको जनाएको छ ।
तालिबानले सत्ताकब्जा गरेपछि अफगानिस्तानमा चरम आर्थिक संकट देखापरेको छ । अफगानिस्तानका पाँच वर्षमुनिका ३० लाखभन्दा बढी बालबालिकाहरू चरम कुपोषणबाट ग्रसित छन् ।

प्रतिक्रिया