मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा

पर्वत । निर्माण भएको १३ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्र्ण बन्दै गएको छ । समयसमयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एक मात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र दोबिल्ला फलेवास–सडकको कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोला माथि रहेको मोटरेबल पुल जीर्र्ण बनेको छ । समय समयमा मर्मत नहुँदा सवारी साधन र यात्रुसमेत जोखिम मोलेरै वारपार गर्न बाध्य भएका छन् ।

पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारी साधन र यात्रु जोखिममा परेका छन् । पुलका पातानै उप्किएर खाल्डा परेका छन् । गत चैतमा कुश्मा नगरपालिकाको पहलमा पूर्वाधार विकास कार्यालयले सामान्य मर्मत गरेको भए पनि फेरि वर्षायामको बाढीले झनै जोखिम बनाएको छ ।

तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्र्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ । पुलको नियमितरुपमा रेखदेख नहुँदा ओभर लोड भएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, ‘पुलमा जुनसुकै बेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।’

पुलबाट पाँच स्थानीय तहका ४५ भन्दा बढी वडामा सवारी साधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको संख्यामा सवारी साधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमताको भएको भए पनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताइन् । ठूला ठूला डोजर लोडरजस्ता उपकरण यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समिति पर्वतले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भए पनि जीर्र्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको बताएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता गत चैतमा वेल्डिङ गरेर जोड्ने गरिएको र यस वर्ष मर्मतका लागि अरु योजना नरहेको कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । पुल मर्मतका लागि स्टिमेट तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उहाँको भनाइ रहेको छ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रूपमा सो पुल निर्माण गरेको थियो ।

प्रतिक्रिया