राप्रपाको नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने भएको छ। काठमाडौंमा जारी महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो । यो व्यवस्थासहित एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ ।

संशोधित विधानमा गाउँ, नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म अध्यक्ष बन्ने व्यक्तिले अब दुई कार्यकालभन्दा बढी बस्न पाउने छैनन् । राप्रपाले पार्टीको महत्त्वपूर्ण पदमा महिला निर्वाचित हुन सक्ने व्यवस्था गरेको छ ।

विधानअनुसार राप्रपाको केन्द्रीय कार्य समिति १९९ सदस्यीय हुनेछ। तिनमा महिलाको संख्या ६६ रहनेछन्। केन्द्रीय कार्यसमितिमा अध्यक्ष १, उपाध्यक्ष ६, महामन्त्री ६ र कोषाध्यक्ष १ जना हुने व्यवस्था गरिएको छ । सहमहामन्त्री ७, सहायक महामन्त्री ७ र सहकोषाध्यक्ष १ जना रहनेछन्। अध्यक्ष, एक महिलासहित ३ उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चुनिनेछन् ।

केन्द्रीय सदस्य ५८ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् । आदिवासी जनजाति १४, मधेसी ११, उत्पीडित ३, मुस्लिम ३, कर्णाली तथा पिछडिएका क्षेत्र २, थारू २ र प्रवासबाट २ जना छानिनेछन् ।

नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने देखिएको छ । महाधिवेशनमा ४ हजार ५ सय ६० जना प्रतिनिधि सहभागी छन् । महाधिवेशन बुधबार उद्घाटन गरिएको हो ।

प्रतिक्रिया