नेप्सेमा समान्य गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन उताचढावबीच सेयर बजार परिसूचक नेप्सेमा समान्य गिरावट आएको छ । गत शुक्रबार मौद्रिक नीति समीक्षापछि आइतबार र सोमबार दुई कारोबार दिनमा नै १०० अंकको गिरावट भएको नेप्से आज केही सम्हालिएपछि १.६४ अंकको गिरावट भएर २८२८.३७ अंकमा बन्द भएको छ ।

नेप्सेमा समान्य गिरावट भए पनि ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ । सेन्सिटिभ इन्डेक्स ०.१८ अंकले बढेर ४९५.६३ अंकमा बन्द भएको छ । आज नेप्सेमा बैंकिङ होटेल तथा पर्यटन, व्यापार, उत्पादनमूलक, जीवन बिमा, लघुवित्त र लगानी उपसूचकमा गिरावट हुँदा निर्जीवन बिमा, वित्त कम्पनी, विकास बैंक, हाइड्रोपावर लगायतको उपसूचक बढेका छन् ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.३७ प्रतिशत, व्यापार उपसूचक ०.८१ प्रतिशत, उत्पादनमूलक उपसूचकमा ०.८४ प्रतिशत र जीवन बिमा उपसूचक ०.५ प्रतिशतले घटेको छ । यता, विकास बैंक र निर्जीवन बिमा उपसूचक ०.८३ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचतक ०.६९ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.३८ प्रतिशत र वित्त कम्पनी उपसूचक ०.३६ प्रतिशतले बढेको छ ।

नेप्सेमा गिरावट रोकिए पनि आज कारोबार रकम भने घटेको छ । आइतबार ५ अर्ब माथि र सोमबार ४ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम ३ अर्बममा झरेको छ । आज ६४ करोड ४७ लाख ४४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४२ हजारको कारोबार भएको छ ।

कारोबार रकममा आईसीएफसी फाइनान्सले लिड गर्दा महालक्ष्मी विकास बैंकले पछ्याएको छ । आईसीएफसी फाइनान्सको १६ करोडको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १० करोड र नबिल बैंकको ८ करोडको कारोबार भएको छ ।

सामान्य करेक्सन भएको बजारमा आज १७९ कम्पनीको सेयर कारोबारमा आउँदा ८९ कम्पनीको मूल्यमा बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज कारोबार भएकामध्ये सामलिङ पावर र ज्यादी हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा तेह्रथुम पावरको सेयरमूल्य ७.०८ प्रतिशत, युनाइटेड इर्दी मार्दी एन्ड आरबी कम्पनीको सेयरमूल्य ६.४९ प्रतिशत र आईसीएफसी फाइनान्सको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ ।

यता इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.७७ प्रतिशतले गिरावट हुँदा लाइफ इन्स्योरेनस कर्पोरेसन नेपालको २.८६ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.७८ प्रतिशत, बैंक अफ काठमाण्डूको सेयरमूल्य २.७६ प्रतिशत, आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य २.७१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया